
जापान।नारायण पाण्डे,
जापानभरिका सुपरमार्केटमा चामलको मूल्य लगातार १७ हप्तादेखि बढ्दै गएको छ। गत अप्रिल २७ सम्मको एक सातामा बिक्री भएको चामलको औसत मूल्य पाँच किलोका लागि करसहित ४२३३ येन पुगेको छ, जुन अघिल्लो साताको तुलनामा १२ येनले बढी हो।



यो मूल्य गत वर्षको सोही अवधिको तुलनामा २१ सय ४५ येनले बढी हो र अघिल्लो वर्षको दोब्बरभन्दा पनि माथि छ। यति बेला सरकारले संचित चामल बजारमा ल्याउन थाले पनि त्यसको मात्रा कम भएकाले समग्र मूल्यमा उल्लेखनीय गिरावट देखिएको छैन।
जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले देशभरका करिब १ हजार सुपरमार्केटहरूमा बिक्री हुने चामलको मूल्य हरेक हप्ता संकलन गरेर सार्वजनिक गर्दै आएको छ। मन्त्रालयका अनुसार सस्तो संचित चामल केही मात्रामा बजारमा आए पनि, अन्य चामलको मूल्य अझै उच्च रहेकाले औसत मूल्यमा कमी आउने अवस्था आइसकेको छैन।
चामलको मूल्यवृद्धिले आम उपभोक्तामा असर पारिरहेको बेला, प्रधानमन्त्री इशिबा शिगेरुले मे ७ मा लिबरल डेमोक्रेटिक पार्टीका नीतिगत अनुसन्धान प्रमुख ओनोदेरासंग प्रधानमन्त्री कार्यालयमा छलफल गरेका छन्। प्रधानमन्त्रीले चामलको मूल्य स्थिर नरहेको र जनताले मूल्य घटेको अनुभूति नपाएको भन्दै मूल्य नियन्त्रणका उपायहरू तत्काल खोज्न निर्देशन दिएको बताईएको छ।