
जापान।
जापानमा यो वर्षको जुन महिनादेखि १९०० भन्दा बढी खाद्यवस्तुहरू महँगा हुने पक्का भएको छ। जापानको निजी अनुसन्धान संस्था ‘तेइकोकु डाटा बैंक’ले गरेको अध्ययन अनुसार, सन् २०२५ को अन्त्यसम्म मूल्यवृद्धि हुने खाद्यवस्तुहरूको कुल संख्या दुई वर्षपछि पहिलोपटक २० हजार नाघ्न सक्ने प्रक्षेपण गरिएको छ।



विशेषगरी जापानी खानपानमा अपरिहार्य मानिने ‘नोरी’ अर्थात् समुद्री सागको मूल्यमा भएको तीव्र वृद्धिले ‘ओनिगिरी’ व्यवसायलाई गहिरो असर पुर्याइरहेको छ। लगातार दुई वर्षसम्मको खराब उत्पादनका कारण नोरीको अभाव भएको र त्यसले मूल्य दोब्बर बनाएको छ। जापानको राष्ट्रिय मत्स्य सहकारी महासंघ अन्तर्गतको नोरी प्रवर्द्धन समितिका अनुसार सन् २०२१ मा देशभर बिक्रीमा आएको नोरीको मात्रा करिब ६६ अर्ब प्रति थियो भने पछिल्लो दुई वर्षमा त्यो घटेर करिब ५० अर्ब प्रतिमा झरेको थियो। अघिल्लो वर्ष केही सुधार आएर ६० अर्ब प्रति उत्पादन भए पनि मूल्य भने लगातार उकालो लागिरहेको छ।
‘तेइकोकु डाटा बैंक’को अध्ययन अनुसार, जुन महिनामा महँगिने वस्तुहरूमा सबैभन्दा बढी संख्यामा मसला तथा दालचिनी जस्ता मसलाजन्य पदार्थ छन्, त्यसपछि प्रशोधित खाद्यवस्तुहरू जसमा इन्स्टन्ट नुडल्स, प्याक गरिएको भात, र नोरी पर्छन्। दुग्धजन्य वस्तुहरूजस्तै दही र क्रीम पनि मूल्यवृद्धिको सूचीमा छन्।
यी वस्तुहरूको मूल्य बढ्नुका पछाडि कच्चा पदार्थको मूल्य वृद्धि, बिजुली र इन्धन लागतको वृद्धिको साथै ढुवानी र श्रम लागतमा भएको वृद्धि जिम्मेवार मानिएको छ। अनुसन्धानकर्ताहरूले आगामी महिनाहरूमा उपभोक्ताले मूल्यवृद्धिको थप असर महसुस गर्ने जनाएका छन्।