
अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको छ । यस्तै क्रिश्चियन समर क्याम्पबाट हराइरहेका २३ देखि २५ जना बालबालिकाको खोजी तथा उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ ।
टेक्सासका धेरै क्षेत्रहरूमा राज्य आपत्काल लागू गरिएको छ । बाढीका कारण धेरै सडकहरू बन्द छन् । यस्तै पानी, बिजुली तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीलाई स्तब्ध पार्ने र भयानक भनेर वर्णन गर्नुभएको खबरमा उल्लेख छ । उहाँले थप सहयोगको पनि वाचा गर्नुभएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा बाढीको पानी सडकमा तीव्र गतिमा बगिरहेको देख्न सकिन्छ । साथै बाढीको पानीका कारण पुलहरू पनि डुबेको देख्न सकिन्छ ।
टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले ४५ मिनेटभित्र ग्वाडालुपे नदीको पानीको स्तर २६ फिटले बढेको बताउनुभएको छ । सबै बेपत्ता व्यक्तिहरू फेला नपरेसम्म राहत र उद्धार कार्य चलिरहने अधिकारीहरूले बताएका छन् ।
विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा मानव सिर्जित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रूपमा देखिन थालेका छन् ।


