कपिलवस्तु ११ साउन ।कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित कोइला नदीमा डुबेर एक युवकको ज्यान गएको छ। बाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाई निवासी १८ वर्षीय कवीन सापकोटाको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
गर्मी बढेसँगै आफ्ना अन्य ५ जना साथीहरूसँगै कोइला नदीमा नुहाउन गएका सापकोटा पौडी खेल्ने क्रममा अचानक नदीमा डुबेर बेपत्ता भएका थिए। साथीहरूले बचाउन प्रयास गरे पनि असफल भएपछि तत्काल स्थानीय र प्रहरीलाई खबर गरेका थिए।



घटनाको जानकारी पाउनासाथ प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेन्द्र कुमार सिंहको नेतृत्वमा सुरक्षाकर्मीको टोली र स्थानीयवासी खोजतलासका लागि घटनास्थल पुगेका थिए। बेपत्ता भएको करिब दुई घण्टापछि सापकोटाको शव नदीमै तैरिरहेको अवस्थामा फेला पारिएको डिएसपी सिंहले जानकारी दिनुभयो।
प्रहरीले शवलाई नदीबाट बाहिर निकाली पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। गर्मी मौसम सुरु भएसँगै खोला तथा नदीहरूमा नुहाउन जाने क्रममा यस्ता दुर्घटनाहरू बढ्ने गरेकाले स्थानीय प्रशासनले विशेष सावधानी अपनाउन र युवा तथा बालबालिकाहरूलाई एक्लै वा असुरक्षित रूपमा नदीमा नजान आग्रह गरेको छ।घटनापछि मृतक सापकोटाको परिवार तथा सिङ्गो बनगाई गाउँ नै शोकमा डुबेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।






