२०८३ श्रावण १५, शुक्रबार १६:५९

दाङ १७ असार । दाङका विभिन्न वन क्षेत्रमा लुकाइछिपाइ राखिएका २१ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा विभिन्न स्थानमा परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा उक्त हतियार फेला पारेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १४ गते प्राप्त सूचनापछि जिल्लाका विभिन्न प्रहरी इकाइबाट खटिएका टोलीले सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइएका भरुवा बन्दुक बरामद गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।अस्थायी प्रहरी पोस्ट बेलुवाबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका ८ स्थित अश्वा सामुदायिक वनबाट एक थान एकनाले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने चार थान फलामका छर्रा बरामद गरेको छ।
यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका ३ स्थित जनचेतना सामुदायिक वनबाट चार थान तथा वडा नं। ६ अन्तर्गत टोट्केलेखस्थित लालीगुराँस सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक फेला पारेको छ। उक्त क्षेत्रबाट मात्रै १२ थान अवैध भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।त्यसैगरी, प्रहरी चौकी रामपुरबाट परिचालित टोलीले घोराही उपमहानगरपालिका २ को च्याख्लीघाटस्थित राष्ट्रिय वनबाट आठ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ! प्रहरीका अनुसार बरामद भएका २१ थान भरुवा बन्दुक र चार थान फलामका छर्राको स्रोत तथा त्यसमा संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय