कपिलवस्तु २४ साउन । कपिलवस्तु नगरपालिकाका निर्वर्तमान नगर प्रमुख किरण सिंह साउन २४ गते मृत अवस्थामा फेला परेका छन्। नगरपालिकाले जारी गरेको शोक बिदासम्बन्धी सूचनाअनुसार सिंह साउन २२ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कबाट बाहिर रहेका थिए। दुई दिनसम्म सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा उहाँ मृत अवस्थामा फेला पर्नुभएको हो।
सिंहको मृत्युको खबरसँगै कपिलवस्तु नगरपालिका तथा स्थानीय क्षेत्रमा शोक छाएको छ। नगरपालिकाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवद्वारा जारी सूचनामा नगरपालिकाको साउन २४ गते बसेको निर्णयअनुसार साउन २५ गते एक दिन शोक बिदा दिने निर्णय गरिएको उल्लेख छ। उक्त दिन नगरपालिकाका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) तथा सामुदायिक, संस्थागत र धार्मिक शैक्षिक संस्थाहरू बन्द रहने जनाइएको छ।
सिंहको मृत्युको ठ्याक्कै कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। घटनाको प्रकृति र मृत्युको कारणबारे सम्बन्धित सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ। शव फेला परेको स्थान, घटनाको परिस्थितिजन्य अवस्था तथा अन्य आवश्यक पक्षबारे अनुसन्धानपछि मात्रै मृत्युको कारण स्पष्ट हुने देखिएको छ।
यसअघि साउन २२ गतेदेखि सम्पर्कविहीन भएका सिंहको खोजी गरिएको र साउन २४ गते मृत अवस्थामा फेला परेका थिए । मृत्यु आत्महत्या हो वा अन्य कुनै कारणबाट भएको हो भन्नेबारे आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।
घटनालाई लिएर विभिन्न अड्कलबाजी भइरहे पनि अनुसन्धान पूरा नभएसम्म मृत्युको कारणबारे निष्कर्ष निकाल्न नहुने प्रहरी उपरीक्षक मनोहर भट्टको भनाइ छ। प्रहरीले घटनासँग सम्बन्धित तथ्य तथा प्रमाण संकलन गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
सिंह कपिलवस्तु नगरपालिकाको नेतृत्वमा रहेर स्थानीय तहको विकास तथा सार्वजनिक सेवाका क्षेत्रमा काम गरेका जनप्रतिनिधि भएकाले उहाँको निधनलाई नगरवासीले दुःखद घटनाका रूपमा लिएका छन्।









