कपिलवस्तु ३ भदौ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको मृत्यु प्रकरण थप रहस्यमय बनेको छ। सिंहको पोस्टमार्टम रिपोर्ट प्राप्त भए पनि मृत्यु स्वाभाविक हो वा अन्य कुनै कारणबाट भएको हो भन्नेबारे अझै स्पष्ट निष्कर्ष आउन सकेको छैन।
प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टमा सिंहको मृत्यु शव फेला पर्नुभन्दा करिब ३६ घण्टा अगाडि भएको उल्लेख छ। गत साउन २४ गते गोरुसिङ्गे जंगलको झाडीमा सिंहको शव फेला परेको थियो। त्यसअघि साउन २२ गतेदेखि उनी परिवार तथा आफन्तको सम्पर्कबाट बाहिर थिए।
सिंहको शव साउन २४ गते पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको थियो। रिपोर्टअनुसार उनको शरीरमा बाहिरबाट देखिने गरी चोटपटकको निशानी भने नदेखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए।
तर मृत्युको वास्तविक कारण अझै स्पष्ट नभएको प्रहरीको भनाइ छ। मृत्युको कारण पत्ता लगाउन भिसेरा परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र त्यसपछि अनुसन्धान थप निष्कर्षतर्फ पुग्ने प्रहरी उपरीक्षक भट्टले बताए।
सम्पर्कविहीन भएपछि भएका गतिविधि अनुसन्धानको केन्द्रमा:
सिंह साउन २२ गते दिउँसो करिब २ बजेतिर ढेकरीमा व्यवसायिक फर्म सञ्चालनको तयारीका क्रममा घरबाट निस्किएका थिए। उनी चढ्ने लु प्र ०१३ प ७९७० नम्बरको एभेन्जर मोटरसाइकल सोही दिन साँझ करिब साढे ७ बजेतिर फेला परेको थियो।
मोटरसाइकल फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेर खोजी गरेको थियो। तर तत्काल सिंहको अवस्था पत्ता लाग्न सकेन। दुई दिनपछि गोरुसिङ्गे जंगलको झाडीमा उनको शव भेटिएको थियो।
अनुसन्धानका क्रममा सिंहको मोबाइल फोनसम्बन्धी गतिविधिलाई प्रहरीले महत्वपूर्ण प्रमाणका रूपमा अध्ययन गरिरहेको छ। प्रहरीका अनुसार साउन २२ गते दिउँसो ३ बजेर २९ मिनेटदेखि ५ बजेर ५३ मिनेटसम्म सिंहले विभिन्न व्यक्तिसँग मोबाइलमा सम्पर्क गरेको देखिएको छ।
फोन सम्पर्कका क्रममा उनले आफूले बाटो बिराएको र उद्धारका लागि आउन आग्रह गरेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। त्यसपछि उनको मोबाइल सम्पर्क र शव भेटिएको स्थानबीचको सम्बन्धसमेत प्रहरीले अध्ययन गरिरहेको छ।
‘झाडीभित्र कसरी पुगे ?’ अनुसन्धानको मुख्य प्रश्न :
सिंहको स्वास्थ्य अवस्था कमजोर रहेको र हिँडडुल गर्नसमेत कठिनाइ हुने गरेको बताइन्छ। यस्तो अवस्थामा उनी मोटरसाइकल फेला परेको स्थानबाट जंगलको झाडीभित्र कसरी पुगे भन्ने प्रश्न अनुसन्धानको महत्वपूर्ण पाटो बनेको छ।
शव फेला परेको स्थान, मोटरसाइकल भेटिएको ठाउँ, मोबाइल सम्पर्कको समय, उनको अन्तिम गतिविधि तथा उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरूबीचको सम्बन्धबारे प्रहरीले सूक्ष्म अध्ययन गरिरहेको छ।
“घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ। विभिन्न व्यक्तिसँग सोधपुछ गर्नुका साथै मोबाइलसमेत परीक्षण भइरहेको छ,” प्रहरी उपरीक्षक भट्टले भने।
शवसँगै भेटिएका सामग्रीले पनि उठायो प्रश्न :
सिंहको शवसँगै मोबाइल फोन, हेलमेट, पर्स र मोटरसाइकलको चाबी समेत भेटिएको प्रहरीले जनाएको छ। यी सामग्री घटनाको प्रकृति बुझ्न महत्वपूर्ण हुन सक्ने भएकाले प्रहरीले प्रमाणका रूपमा अध्ययन गरिरहेको छ।
हालसम्म शरीरमा बाहिरी चोटपटक नदेखिनु, मृत्युको कारण स्पष्ट नहुनु, स्वास्थ्य अवस्था कमजोर हुँदाहुँदै जंगलको झाडीभित्र पुग्नु तथा मृत्यु हुनुअघि उनले आफू बाटो बिराएको भन्दै सहयोग माग्नुजस्ता विषयले घटनालाई थप गम्भीर बनाएको छ।
प्रहरीले भने अहिले नै हत्या वा स्वाभाविक मृत्यु भनेर निष्कर्ष निकाल्न नसकिने जनाएको छ। भिसेरा रिपोर्ट, मोबाइल परीक्षण तथा अन्य अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा मात्र मृत्युको वास्तविक कारणबारे निष्कर्षमा पुग्न सकिने प्रहरीको भनाइ छ।
सिंहको मृत्युबारे स्थानीयस्तरमा विभिन्न आशंका व्यक्त भइरहे पनि अनुसन्धान पूरा नभएसम्म कुनै पनि निष्कर्षलाई प्रमाणित तथ्यका रूपमा लिन नसकिने प्रहरीले जनाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धानलाई थप सूक्ष्म बनाइएको छ।









