२०८३ भाद्र ५, शुक्रबार १८:४९

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गर्दै कपिलवस्तुमा ज्ञापनपत्र बुझाइएको छ । महिला मानव अधिकार रक्षक सञ्जाल, कपिलवस्तु सहित विभिन्न संघसंस्था तथा अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत नेपाल सरकार, गृह मन्त्रालय समक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर्न माग गरेका हुन् ।

ज्ञापनपत्रमा अबोध बालिकामाथि भएको बलात्कारपछि हत्या जस्तो अमानवीय, जघन्य र निन्दनीय घटनाले महिला तथा बालिकाको सुरक्षा, आत्मसम्मान र न्यायको अधिकारमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ । घटनाले सम्पूर्ण समाजलाई स्तब्ध र आक्रोशित बनाएको भन्दै दोषीलाई कुनै पनि प्रकारको उन्मुक्ति दिन नहुने माग गरिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई पक्राउ गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै ज्ञापनपत्रमा घटनाको सत्यतथ्य निष्पक्ष र प्रभावकारी रूपमा अनुसन्धान गर्न माग गरिएको छ । दोषी जोसुकै भए पनि प्रचलित कानुनबमोजिम कडा कारबाही हुनुपर्ने माग अधिकारकर्मीहरूको छ ।


ज्ञापनपत्रमार्फत पीडित परिवारलाई आवश्यक कानुनी सहायता, मनोसामाजिक सहयोग, न्याय तथा सुरक्षा उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ । महिला तथा बालबालिकामाथि हुने यौन हिंसा र त्यसपछि हुने हत्याजस्ता जघन्य अपराध नियन्त्रणका लागि प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइएको छ । यस्ता घटनामा संलग्न व्यक्तिलाई राजनीतिक, सामाजिक वा अन्य कुनै पनि दबाबका आधारमा उन्मुक्ति नदिन र निष्पक्ष अनुसन्धानमार्फत पीडितलाई न्याय दिलाउन माग गरिएको छ ।


त्यस्तै, बालबालिकाको सुरक्षाका लागि स्थानीय तहदेखि केन्द्रसम्म विशेष कार्यक्रम तथा प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने माग गरिएको छ । बलात्कार तथा यौन हिंसाजस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय हुने गरी आवश्यक कानुनी व्यवस्था निर्माण तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘बलात्कार र हत्या गर्ने दोषीलाई उन्मुक्ति होइन, कडा सजाय हुनुपर्छ ।’
ज्ञापनपत्र बुझाउने कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल, कपिलवस्तुकी अध्यक्ष पुष्पा रेग्मी, उपाध्यक्ष रुकैया खातुन, माहुरी होमका रविन्द्रनाथ ठाकुर, दलित सामाजिक विकास केन्द्रकी सुरजमति पासी, प्रेमलता भट्ट, नारायणी जिसी, साथी संस्थाकी बिमला घिमिरे, शुष्मा गुरागाईं, शेषमती मल्लाह लगायत अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


अधिकारकर्मीहरूले बालिका गरिमा चौधरीको घटनालाई गम्भीरतापूर्वक लिई पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी शीघ्र अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन र दोषीलाई कानुनको दायरामा ल्याई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । साथै, भविष्यमा बालबालिका तथा महिलामाथि यस्ता जघन्य अपराध दोहोरिन नदिन राज्यका सम्बन्धित निकायलाई थप जिम्मेवार, संवेदनशील र प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय