स्मृति बस्याल कपिलवस्तु | १७ भदौ २०८३
वाणगंगा नगरपालिका– १, ३, ४ र ५ मा फैलिएको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक योजना तर्जुमा गोष्ठी तथा समीक्षा बैठक सम्पन्न गरेको छ । श्रीपेच होटलमा आयोजित कार्यक्रममा सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा उपभोक्तामुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो ।

समूहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको जनाएको छ । बैठकमा अघिल्लो आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा गर्दै आगामी वर्षमा सञ्चालन गरिने वन संरक्षण, व्यवस्थापन, विकास तथा उपभोक्तामुखी कार्यक्रमका लागि आवश्यक सुझाव संकलन गरिएको थियो ।




श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेशबहादुर सिंह ठकुरी ‘सुशील’ ले सामुदायिक वन अन्तर्गत रहेका १४ वटै मौजाका टोल संयोजक, विभिन्न उपसमिति, कार्यसमिति, सल्लाहकार, राजनीतिक दल तथा सरोकारवाला प्रतिनिधिहरूबाट प्राप्त सुझावलाई आगामी १४औँ साधारण सभामा प्रस्तुत गरिने जानकारी दिनुभयो । उहाँले सबै पक्षको सुझाव र सहभागिताका आधारमा आगामी वर्षको योजना तथा कार्यक्रमलाई अन्तिम रूप दिइने बताउनुभयो ।

यस्तै वाणगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसाल ले साधारण सभाअघि नै विभिन्न संघसंस्था तथा सरोकारवालालाई सहभागी गराई सुझाव संकलन गर्ने श्रृङ्गिघाट सामुदायिक वनको अभ्यास प्रशंसनीय रहेको बताउनुभयो । उहाँले योजना निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने यस्तो अभ्यासबाट पारदर्शिता र प्रभावकारिता बढ्ने उल्लेख गर्दै यस क्षेत्रका अन्य संघसंस्था तथा संस्थाहरूले समेत यसको अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा सामुदायिक वनको दिगो संरक्षण र व्यवस्थापन, वन स्रोतको सदुपयोग, उपभोक्ताको आयआर्जन तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रम र आगामी वर्षका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत छलफल गरिएको थियो । समूहले स्थानीय समुदाय, सरोकारवाला निकाय तथा उपभोक्ताको सुझावलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका कार्यक्रमलाई अन्तिम रूप दिएर १४औँ साधारण सभाबाट अनुमोदन गर्ने तयारी गरेको जनाएको छ । बैठकमा राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवी, स्वास्थ्य शाखाका प्रमुख, वाणगंगा नगरपालिकाका प्रतिनिधि तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो। यसैबीच, श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्ष २०८२/०८३ मा ६ करोड ७३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको जनाएको छ । समूहले सो अवधिमा प्रदेश सरकारलाई १ करोड २२ लाख ५० हजार ४८७ रुपैयाँ राजस्व समेत बुझाएको थियो ।







