२०७९ माघ १, आईतवार ०९:१८

इलाम  नेपाल एअरलाइन्सले आजदेखि इलाम–काठमाण्डौ उडान सुरु गरेको छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन सुरु भएको हो ।

हप्तामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एअरलाइन्सबीच सहमति समेत भएको थियो । इलाम नगरपालिका–९ मा रहेको फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गएको वर्ष इलाम नगरपालिकाले तारा एअरसँग सम्झौता गरेर केही उडान गरेको थियो । तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको थियो।

विमानबाट इलाम–काठमाण्डौ करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ । आज करिब बिहान ८ बजे काठमाण्डौबाट उडान गर्ने तालिका रहेको थियो । इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाण्डौका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगरका मेयर केदार थापाले बताउनुभयो । उहाँले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको जानकारी दिनुभयो ।

इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ । इलामबाट काठमाण्डौको एकतर्फी भाडा छ हजार तीन सय रुपैयाँ तोकिएको छ । काठमाण्डौबाट इलामका लागि भने एकतर्फी भाडा छ हजार पाँच सय रुपैयाँ तोकिएको छ । तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।

यात्रुले इलाम बजारमा रहेको सिटीमार्टको पहिलो तलाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ ।

पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । यस विमानस्थल छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय