काठमाडौं । माओवादी केन्द्रकी नेतृ रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएकी छन् । मङ्गलबार भएको मन्त्रिपरिषद् विस्तारका क्रममा दाङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित शर्मा सञ्चार मन्त्रालयको नेतृत्वमा आएकी हुन् ।
मन्त्रालय पुगेर पदबहाली गर्दै उनले मोबाइल नेटवर्क नपुगेको ठाउँमा सेवा विस्तार गर्ने निर्णयमा हस्ताक्षर गरेकी छिन् ।
टेकपानासँग संक्षिप्त कुरा गर्दै नवनियुक्त मन्त्री शर्माले जिम्मेवारी सम्हालेकै दिन नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदाको तीतो अनुभव समेत व्यक्त गरिन् ।
“मैले मन्त्रालय सम्हालेकै दिन पनि संयोगवश टेलिकमको नेटवर्कमा समस्या देखियो,” उनले भनिन्, “दूरसञ्चार सेवा नपुगेका स्थानमा टावरहरू खडा गरेर सेवा पुर्याउने र मोबाइल सेवाको गुणस्तर बढाउने विषयमा पहिलो निर्णय लिएका छौँ ।”
सूचना तथा सञ्चार प्रविधि क्षेत्र आफ्ना लागि चुनौतीपूर्ण रहेको भन्दै उनले सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने बताइन् ।
यसअघि २०७० र २०७४ मा दुवै पटक समानुपातिक तर्फबाट निर्वाचित सांसद शर्माले गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिएकी थिइन् ।
एमाले महासचिव शङ्कर पोखरेललाई पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेकी उनी माओवादी नेता कृष्णध्वज खड्काकी श्रीमती हुन् । २०५१ सालमा उनीहरूबीच विवाह भएको थियो ।
द्वन्द्वकालमा टाउकोको मूल्यसमेत तोकिएकी मन्त्री शर्मा ०५८ सालमा आफ्ना श्रीमानसँगै चाबहिलबाट पक्राउ परेकी थिइन् ।
सैनिक हिरासतमा चरम यातना भोगेकी शर्मा एक वर्षपछि मात्रै छुटेकी थिइन् । अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी उनी यसअघि पार्टीको तर्फबाट संसदमा प्रमुख सचेतकका साथै ०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री समेत रहेकी थिइन् ।
२०७९ माघ ३, मंगलवार १९:३६
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech