दाङ -फागुन ।देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ । लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिए । यस्तै लमही नगर पालिका–३ जखेरातालका सुकबहादुर डाँगीका पनि चारवटा बाख्रा चितुवाले मारिदिएको छ । डाँगीले चरिचरनका लागि जङ्गल लग्नुभएको थियो । त्यस्तै मङ्गलबार राति नै लमही नगरपालिका–३ का सुकबहादुर कुमालको खोरमै पसेर एउटा बाख्रा बाघले खाइदिएको कुमालको भनाइ छ ।
विगत डेढ महिनाअघिदेखि देउखुरीका विभिन्न सामुदायिक वनमा चितुवाको आतङ्क बढेको छ । सामान्य घर खर्चका लागि पालिएकादेखि व्यावसायिकरूपमै फार्म खोलेर पालिएका बाख्रा चरिचरनका लागि जङ्गल लैजाँदा दैनिकरूपमा चितुवाले खाइदिने गरेको यहाँका बाख्रापालक किसानको गुनासो छ । दिनानुदिन बढ्दै गएको चितुवा आतङ्कले किसान चिन्तित र त्रसित बनेका छन् ।