२०८० बैशाख ५, मंगलवार १५:१३

चितवन – अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी ६ महिनाअघि संगठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे ।

उनीहरूले नेपाल लेयर्स कुखुरापालक संघ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट ९३० वटा० को २४० रुपैयाँ हाराहारीमा झरेको थियो ।

विक्रम संवत् २०७९ असोज २९ गते पहिलो भेला भएर संगठन गरेका उनीहरूले बितेका ६ महिनामा देशका अधिकांश जिल्लामा पुगेर त्यहाँका किसान र व्यवसायीसँग छलफल र बजारीकरणमा जुटे । अहिले प्रतिक्रेट ठूलो अण्डाको मूल्य ३७० रुपैयाँ पुगेको छ ।

संघका अध्यक्ष विनोद पोखरेलले यसबीचमा झण्डै ७२ जिल्ला आफूहरू पुगेर बजारीकरणमा काम गरेको जानकारी दिए । उनले भने, ‘३–४ वटा जिल्लाबाहेक सबै जिल्लामा हामी एकपटक पुग्यौं । कति मुख्य बजारमा धेरैपटक पुगेर छलफल गर्‍यौं ।’

व्यवसायीले अवैध भित्रने कुखुराजन्य पदार्थ रोक्न सम्बन्धित निकायसँग अनुरोध समेत गर्दैै आएका छन् । व्यवसायीलाई मूल्यमा एकरूपता कायम गर्न उनीहरूले आग्रह गरेका छन् । किसानका अरु समस्या समाधानका लागि पहल गर्दै आएका छन् ।

‘पोल्ट्री व्यवसाय बचाउनका लागि अन्तिमपटकको हाम्रो यो प्रयास सफलतातिर गएको छ,’ अध्यक्ष पोखरेलले भने । किसानकोमा झण्डै आधा कुखुरा घटेको जनाउँदै उनले लागत मूल्य अझै पाउन नसकेको गुनासो गरे ।

देशभर ३० हजारभन्दा बढी कुखुरा पाल्ने ५० व्यवसायी यो संघमा आवद्ध छन् । अझै १५ जना जति संघमा आवद्ध नभएका बताइएको छ ।

नेपालको पोल्ट्री क्षेत्रमा परिचय कमाएका गुणचन्द्र विष्टलाई संरक्षक बनाएर आफूहरू देशव्यापी अभियानमा जुटेको अध्यक्ष पोखरेलको भनाइ छ । व्यवसायी सुरेश वैद्य, त्रिलोचन कँडेल र शिभाजी साह पनि अभियानमा जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय