अर्घाखाँची – जंगलमा लागेको आगो निभाउन गएका एकै ठाउँका चारजनाको आगोले जलेर मृत्यु भएपछि अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं २ ढाकाबाङको जोइथुम तिरतिरेको सिंगो गाउँ नै शोकमा डुबेको छ ।मंगलबार आगो निभाउने क्रममा घाइते भएका चारजनाको उपचारको क्रममा मृत्यु भएपछि सिंगो तिरतिरे गाउँवासी शोकमा डुबेका हुन् ।मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका९२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारैजनाको मृत्यु भएको हो ।
वडा नं २ वडाध्यक्ष बुद्धिबहादुर थापाले पालिकाले आगो निभाउन गएको समयमा एक्कासी हावा लागेपछि जताततै फैलिएर यस्तो घटना भएको बताउँदै गाउँमा घटेको अप्रत्यासित घटनाले स्तब्ध बनाएको बताए ।
बुधबार पालिकास्तरको निर्णयबाट मृतकको परिवारलाई राहतस्वरुप ५० हजारका दरले राहत उपलब्ध गराइएको र अन्य राहतका लागि स्रोत व्यवस्थापन गर्ने तयारी भएको उनको भनाइ छ ।घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएकोमा उपचारको लागि लैजादै गर्दा केहीको बाटोमा र केहीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालको भनाइ छ ।
आगलागीमा परि घाइते भएका भुमिकास्थान –२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा र ३६ वर्षीय माधव वेल्वासेको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको स्थानीय विष्णु वेल्वासेले बताए ।आगलागीमा परेर घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।आगलागीले ज्यान गुमाएका घरपरिवारमा रहेका आफन्तलाई भेटेर घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी मिना अर्याललगायतको टिमले जानकारी लिनुका साथै राहतसमेत प्रदान गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको जिल्लास्तरीय सुरक्षा प्रमुखहरुको टोलीले घटनास्थलमा गएर आगलागीको प्रकृति, मृतकका परिवारको अवस्था र आगो लाग्नुको कारणबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।आगलागीमा परेर ज्यान गुमाएका परिवारलाई दिइने राहका विषयमा तत्काल निर्णय गर्ने अर्यालले बताइन् । मंगलबार नेपाल प्रहरी,सशस्त्र प्रहरी,स्थानीयबासी र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घरहरू जोगिएका थिए ।