२०८० जेष्ठ ३१, बुधबार १३:१६

बुटवल । नेपाल आयल निगमको रुपन्देही, भलबारी डिपोमा आउँदै गरेको ट्याङ्करमा तेल चोरी गर्दै गरेको अवस्था प्रहरीले २ जनालाई रङ्गेहात पक्राउ गरेको छ । डिपोमा आउँदै गरेको लु २ ख ७३७ नं को ट्यांकर पडसरीस्थित यादव पेट्रोल पम्पमा रोकेर तेल चोरी भएको हो ।

उक्त ट्यांकरमा लगाइएको सिल तोडेर तेल बेच्दै गरेको अवस्थामा नेपाल प्रहरीले चालक र सहचालकलाई सोमबार नियन्त्रणमा लिइएको जनाएको छ । व्यवसायीको सहयोगमा ट्यांकर चालकले तेल चोरेर पेट्रोल पम्पमा बेच्दै गरेको अवस्थामा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ परेकालाई चोरी आरोपमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । पक्राउ पर्नेमा ट्याङ्कर चालक भारत जिल्ला महाराजञ्ज थाना नौतनवाका चालक ३८ वर्षीय मोहमद मुहिम र सोही ठाउँका सहचालक २२ वर्षीय रविन्द्र गौतम रहेका छन् । ओमसतिया गाउँपालिका १ मा रहेको यादव आयल फिलिङ सेन्टरको पछाडि लक गरेको ट्याङ्करको सिल तोडिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सादा पोशाकमा खटिएको टोलीले ट्याङ्कर नजिकै इन्धन भरिएको अवस्थामा दुई वटा ग्यालेन, पाइप, नक्कली सिल, बाल्टिनलगायत सामग्री समेत बरामद गरेको छ । उनीहरुले सय लिटर बढी तेल चोरी गरेका थिए ।

ओमसतिया गाउँपालिकाको उक्त क्षेत्रमा भारतबाट इन्धन बोकेर आएका ट्याङ्करहरु रोकिन्छन् । भलबारीमा पुर्याउनुपर्ने ट्याङ्कर पार्किङ्को निम्ति उक्त क्षेत्रमा लामो समयसम्म रोकिने गरेका छन् । लामो समयसम्म रोकिँदा राति वा दिउँसोको समयमा जतिबेला पनि तेल चोरी हुने गरेको स्रोतको दाबी छ ।

तेल चोरी हुँदै गरेको ट्याङ्कर पौडेल ढुवानी सेवा प्रालिका विष्णुदत्त पौडेलको हो । अमलेखगञ्ज बारामा रहेको डिपोबाट डिजेल लोड गरेर नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारी डिपोमा अनलोड हुन आएका ट्यांकरले करिब ७ किलोमिटर वरको बाटोमा रहेको पेट्रोल पम्पमा तेल झिकेर बेच्ने गरेका छन् । भारतबाट तेल लिएर आउने ट्याङ्करहरुलाई यादव आयलले पर्खालले घेरेर नदेख्ने बनाइएको छ । त्यहाँ दैनिक ४० वटासम्म ट्याङ्कर पुग्ने गर्छन् ।

यो क्षेत्रमा नौ वर्ष अगाडि पनि यसैगरी तेल चोरी हुने गरेको बताइन्छ । त्यतिबेला तेल चोरिएको अवस्थामा सवारी धनी, चालक र सहचालक पक्राउ परेका थिए । मुद्दा चलेपछि उनीहरुलाई जरिवाना गराइएको थियो । गत वैशाख ८ गते भैरहवा भन्सार कार्यालयले लु १ ख ४८३९ नम्बरको ट्याङ्करमा मापदण्डभन्दा ३ हजार ३ सय ४८ लिटर पेट्रोल बढी ल्याएको भेटिएको थियो । ट्याङ्कर एक्सप्रेस परिवहन सेवाका सञ्चालक चोपनारायण श्रेष्ठको ३१ लाख ७० हजार जरीवाना तिरेर छुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय