२०८० जेष्ठ ३२, बिहीबार ०७:३०

काठमाडौं,  । प्रेस सेन्टर नेपालले समानुपातिक विज्ञापनको नीति व्यवहारिक रुपमा तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज बिहान पदाधिकारीहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रेस सेन्टरले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा समानुपातिक विज्ञापनको नीति व्यवहारिक रुपमा तत्काल कार्यान्वयन गर्नुपर्ने, सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजाने व्यवस्था मिलाउनुपर्ने, अनलाइन सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने लगायतका बुँदा उल्लेख छन् ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले आम श्रमजीवी पत्रकार तथा मिडियाबारे संगठनले उठाएका मुद्दाहरू सम्बोधन गर्न आग्रह गरेको र प्रधानमन्त्री प्रचण्डले पनि सम्बोधन गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

अध्यक्ष सापकोटाका अनुसार यो ध्यानाकर्षण पत्र आजै सबै पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारका मुख्यमन्त्रीलाई पनि बुझाउने कार्यक्रम छ ।

ध्यानकर्षण पत्रमा मिडिया काउन्सिल तथा आमसञ्चार माध्यमसँग सम्बन्धित अन्य कानुनहरु यथाशीघ्र प्रकृयागत हिसाबले अगाडि बढाउन र ती कानूनहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन आग्रह गरिएको छ । साथै श्रमजीवी पत्रकार ऐनले दिएका सेवासुविधा प्राप्तिका लागि बनेका ऐन कार्यान्वयनका लागि श्रमजीवी पत्रकार ऐनले परिकल्पना गरेको जस्तो छुट्टै प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गर्न र सबै प्रदेशमा सरकारी कर्मचारीबाहेकको व्यक्तिलाई प्रेस रजिष्ट्रार नियुक्त गरेर काम थाल्न पनि प्रेस सेन्टरले सरकारको ध्यानाकर्षण गराएको छ ।

पछिल्लो पटक पत्रकार तथा आमसञ्चार माध्यमसँग असम्बन्धित साइबर कानुनलाई जोडेर पत्रकार तथा आमसञ्चार माध्यमलाई प्रहरी प्रशासनले अनावश्यक दुःख दिने तथा धरपकड गर्ने कार्य जारी रहेको भन्दै त्यसलाई रोक्न पनि माग गरिएको छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र–

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय