वाँके ।लुम्बिनी प्रदेशका कृषि तथा भुमि ब्यवस्थामन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ । उहाँले किसानको नाममा ठूलाबडाले सरकारीको सहयोग लिनेगरेको गुनासो बारम्बार आउनेगरेको जनाउँदै सो बारेमा वर्तमान सरकार गम्भीर र सचेत रहेको बताउनुभयो ।शनिबार नेपालगञ्जस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा आयोजना गरिएको एक कार्यक्रममा बाँकेका पशुपंछीपालक किसानलाई निःशुल्क कृषि उपकरण र चल्ला वितरण गर्दै मन्त्री अहिरले सो कुरा बताउनुभएको हो । सो अवसरमा उहाँले पशुपंछी उत्पादन बृद्धि गर्दै किसानलाई व्यावसायिक कार्यतर्फ आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले विभिन्न प्रकारका कार्यक्रम र योजना बनाइरहेको बताउनुभयो ।
सो अवसरमा मन्त्री अहिरले बाँकेका २३ जना किसानलाई च्याप कटर मेसिन र पम्पिङसेट मेसिन वितरण गर्नुभयो । उहाँले गरिब, अल्पसंख्यक तथा दलित समुदायका २० जनालाई जनही ५० वटाको दरले कुखुराको चल्ला पनि वितरण गर्नुभयो । कृषि उपकरण र चल्ला पाएका किसानले पहिलो पटक सरकारी सहयोग पाएको जनाउँदै यसबाट उत्पादन बृद्धिका लागि विशेष सहयोग पुग्ने आशा प्रकट गर्नुभयो । सो अवसरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगन्जका प्रमुख कमला अधिकारीले बाँकेका अधिकांश किसानले आधुनिक उपकरणमार्फत आधुनिक तरिकाले कृषि र पशुपालन गर्दैआएको बताउनुभयो ।