कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्रालयका सचिव र सहसचिवको हाजिरीमा गयल भएको चिन्ह लगाएका छन्।चार दिन अघि मन्त्रालयका सचिव कृष्णहरी पुष्कर मुख्यसचिव बैकुण्ठ अर्यालले बोलाएको बैठकमा पुगेको बेला मन्त्री मोदीले उनको हाजिरीमा रातो लगाइदिएका हुन्।सोही दिन सहसचिव स्किम श्रेष्ठ राष्ट्रिय योजना आयोगको बैठकमा जाँदा मन्त्री मोदीले हाजिरीमा रातो लगाइदिएको स्रोतले बतायो।ुसचिवज्यू मुख्यसचिवले बोलाएर प्रधानमन्त्री कार्यालय जानुभएको हो।
तर त्यही बेला मन्त्रीज्यूले छड्के जाँच गरेको भन्दै हाजिरीमा रातो लगाउनुभएको हो मन्त्रालयका एक अधिकारीले भने, सहसचिवज्यू समेत योजना आयोगको बैठकमा जानुभएको थियो। तर हाजिरीमा रातो लगाइएको छ।
सहसचिवलाई सचिवले र सचिवलाई मुख्यसचिवले नियमन गर्ने भएको हुँदा मन्त्री मोदीले आफ्नो कार्यक्षेत्र मिचेको ती अधिकारीले आरोप लगाए।ती अधिकारीका अनुसार कार्यकक्षमा सचिव र सहसचिवलाई नभेटेपछि मन्त्री मोदीले मुख्यसचिव बैकुण्ठ अर्याललाई फोन गरेका थिए। त्यो बेलामा मुख्यसचिव अर्यालले सचिव पुष्कर आफुसँगै रहेको बताएका थिए।मन्त्री मोदी निकट स्रोतले भने सुशासन कायम गर्न कर्मचारीबाट असहयोग भएको आरोप लगाएको छ। मन्त्रीले भने अनुसार मन्त्रालयका कर्मचारी नचल्ने हो भने मन्त्री किन चाहियो। सचिवले मन्त्रीलाई भन्दै नभनी जान कसरी मिल्छ, मन्त्री मोदी निकट स्रोतले भन्यो
मन्त्रालयको काम छोडेर दिनभरि हराएपछि रातो लगाइएको हो। साना कर्मचारीमाथि मात्रै छड्के हुने होइन उच्च अधिकारीमाथि समेत छड्के हुनुपर्छ।मन्त्रीले फोन गर्दा मुख्यसचिव अर्यालले सचिव पुष्करले आफूलाई भेटेर हिँडिसकेको बताएको मन्त्री निकट स्रोतको दाबी छ। तर दिनभरी मन्त्रालयमा नआएपछि हाजिरीमा गयल लगाइदिएको स्रोतले बतायो।मन्त्रालयमा सेवाग्राहीको भिड छ तर यही बेला सचिव र सहसचिव नहुँदा कति अप्ठ्यारो पर्छ भन्ने उनीहरूले बुझ्नुपर्ने हो। यस्तो बेलामा सहसचिव धुलिखेल गएको रेकर्ड मन्त्रालयमा थियो, मन्त्रीनिकट श्रोतले भन्यो, मुख्यसचिवलाई भेट्न गएको भनेर सचिव दिनभरि हराउने अनि सहसचिव समेत जानकारी नगराइकन काठमाडौंबाहिर गएपछि हाजिरमा रातो लगाउनु स्वाभाविक हो।