काठमाण्डौ -औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई सुनसरीको इनरुवाका व्यापारीले दुई घण्टा थुनेर छाडेका छन् । मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले हिजो जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडासहितको टोलीलाई थुनेका हुन् ।
गृहको पत्रानुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यवसायीसहितका व्यापारी आन्दोलनमा उत्रिएका थिए । उनीहरुले अनुगमन टोलीलाई हातपात र दुर्व्यवहार गरेपछि अवस्था शान्त पार्न सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
अनगुमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्याएको थियो । त्यसपछि पनि व्यापारी समूहले बजार क्षेत्रमा प्रदर्शन गरेका थिए । नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैलीविरुद्ध आन्दोलन गरेको बताउनुभएको छ ।
अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको गतिविधि ठिक नभएको प्रतिक्रिया दिनुभएको छ । अनुगमन टोलीमाथि व्यापारी, व्यवसायीको अवरोध र आक्रमणको प्रयास निन्दनीय रहेको उहाँले बताउनुभयो ।
खतिवडाले अनुगमनका क्रममा केही औषधि पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले पुनः अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउने बताउनु भयो । जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगमन प्रतिवेदन तयार पारेर घटना छानबिन गरी दोषीलाई कारबाही गर्ने जनाएको छ ।