बुटवल । सामान्य विवादले उग्र रुप लिएपछि बुटवलका युवाहरु बीच खुकुरी हानाहान भएको छ । बुटवलको रात्रिकालिन बजारका रुपमा चर्चा हुँदै आएको कालिका पथमा दिनदहाँडै खुकुरी नचाउँदै कुटपिटको घटनाले यहाँको सुरक्षा व्यवस्था माथि पनि प्रश्न उठेको छ । रात्रिकालिन बजार सञ्चालन गर्ने भनिएको ठाउँमानै दिनदहाँदै देखिने हिंसात्मक दृश्यले यहाँको पर्यटन तथा अन्य व्यवसायहरुमा समेत सुरक्षा चुनौती थपिएको स्थानीयहरु बताउँछन् ।
युवाहरुको एक समूले खुकुरी तथा ढुङ्गा मुढा प्रहार गर्दा बुटवलका निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका छन् । गएको शुक्रबार दिउँसो करिब पौने १२ बजेको समयमा बुटवल–११ कालिकापथ अन्तरगत होराइजन चोक नजिकै युवाहरुको कुटपिटबाट खत्रीको ढाड तथा टाउकोमा चोट लाग्दा ६० वटा टाँका लगाउनु परेको छ । तिलोत्तमाको क्रिमशन अस्पतालमा २ दिनको उपचारपछि घर फर्किएका उनी अहिले पनि उपचारका लागि फलोअपमै छन् ।
खत्रीमाथि आक्रमण गर्ने ३ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रण्मा लिएर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा फलफूल व्यवसायी अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवर रहेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । आक्रमणम गर्ने एक आरोपित युवा लगायतका अन्य भने घटनापछि फरार रहेका छन् । करिब ३ दर्जन बढीको समूहमा आएका युवाहरुले बीच बाटोमा रोकेर खुकुरी, हेलमेट, इट्टा लगायतका हतियार प्रयोग गरी आक्रमण गरेको पीडितले आरोप लगाएका छन् ।
नियन्त्रणमा लिइएकाहरुलाई शरिर अङ्गभङ्गको अभियोगमा मुद्दा दायर गरी फरार भनिएका युवा तथा घटना संलग्न अन्यलाई समेत खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत रुपन्देहीबाट आइतबार म्याद थपको आदेश लिई थप अनुसन्धान अघि बढेको जनाइएको छ ।
निर्माणाधिन सडक भत्काएपछि सुरु भएको विवाद कुटपिटमा परिणत
निर्माणधिन कालिका पथ अन्तरगत बुटवल ११ योगीकुटी नजिकै काली गण्डकी निर्माण कम्पनीका सञ्चालक डि बी खत्रीले विहिबार साँझ सडक पीच गर्नका लागि प्राइमर कालोपत्रे लगाएर राखेका हुन्छन् । निर्माण सम्पन्न नहुँदासम्मका लागि सवारी साधन चल्न रोक लगाइएको उक्त ठाउँमा स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक चढाएपछि सडक भत्किन्छ । सडक भत्किएपछि निर्माण कम्पनीका सञ्चालक खत्रीले कादरीलाई क्षति दिनुपर्ने माग गर्छन् । आफूले बाटो बिगारेर गल्ती गरेको स्वीकार गर्दै उनले पनि भोलि शुक्रबार पैसा दिने सहमती अनुसार त्यहाँबाट छुट्टिन्छन् ।
समाचार स्रोतका अनुसार भोली पल्ट क्षतिपूर्ति बापतको रकम लिन निर्माण व्यवसायी डि बी खत्रीले आफ्ना छोरा निर्मल खत्रीलाई कादरीकोमा पठाउँछन् । यसअघि नै कादरीले विवाद बारे आफ्ना साथीहरुलाई सुनाएका हुन्छन् । उनको कुरा सुन्दै कादरीका साथी सरोज शेरचनले पैसा नतिर्न सल्ला दिन्छन् । आवश्यक परे क्षतिपूर्ति माग्ने व्यवसायी खत्रीलाई धम्क्याउन र थर्काउनका लागि आफूहरुले केटाहरु बोलाउने बताउँछन् । सोही योजना अनुसार शुक्रबार विहान कादरीसँगै सरोज शेरचन, किशन र गणेश भन्ने लोक बहादुर कुवर जम्मा भएका हुन्छन् । उनीहरुले जम्मा भएर व्यवसायी खत्रीलाई धम्क्याउँदै ‘के को पैसा दिने तँलाई ’ ‘किन दिने ’ लगायतका प्रश्नहरु गर्न थाल्छन् । उनीहरुको यस्तो व्यवहारले झर्किँदै खत्रीले कादिरलाई झपार्छन् । ‘पैसा दिन्छु भनेर मलाई केटाहरु लिएर कुट्न आउने ’–खत्रीको यो प्रश्न र त्यसपछिका सवाल–जबाफसँगै उनीहरु बीच सामान्य हात हालाहात हुन्छ । त्यसपछि कादरीको समूह त्यहाँबाट जान्छन् ।
उनीहरु बीचको यो घटनापछि डि बी खत्री घरतिर लाग्छन् भने छोरा निर्मल खत्रीले आफ्ना साथीहरुलाई घटना बारे सुनाउँछन् । त्यसपछि उनका साथीहरु सुमन गुरुङ, सुमन बस्याल, झविन गौतम निर्मललाई भेट्न योगीकुटी आइपुग्छन् । विवादलाई सकेसम्म छलफलबाटै मिलाउनु पर्छ भन्ने निश्कर्षसहित एक होटलमा चियाँ पीउँदै गफ गर्ने भनि उनिहरु त्यहाँबाट गाडी चढी मिलनचोकतर्फ आइरहेका हुन्छन् । सोही क्रममा यस अघि नै कादरीले बोलाएका करिब ३ दर्जन युवाहरु होराइजन चोकमा जम्मा भएका हुन्छन् ।
बाटोमा आउँदै गरेको अवस्थामा निर्मल खत्रीको गाडीलाई देखेपछि उक्त समूहका युवाहरुले अगाडी मोटरसाइकल तेर्स्याएर बाटो छेक्छन् । बाटो छेकेपछि गाडीबाट उत्रिएका निर्मल खत्रीमाथि त्यहाँ जम्मा भएका युवाहरुको समुहले एक्कासी कुटपिटमा उत्रिन्छन् । खत्रीसँगै भएका अन्य ३ जना साथीहरु ठूलो हुलका बीच केही गर्न सक्ने अवस्थामा हुँदैन । ज्यान बचाउन भागेका खत्रीलाई स्थानीय केही युवाहरुले नजिकैको किराना पसलको सटरमा बन्द गरेर सुरक्षित राख्छन् ।
भाग्यबस सोही समयमा उक्त सडक हुँदै एम्बुलेन्सले हर्न बजाउँदै आएको हुन्छ, कुटपिटमा उत्रिएका युवाहरु प्रहरीको गाडी सम्झेर त्यहाँबाट तितरवितर हुन्छन् । घटना लगत्तै घाइते भएका खत्रीलाई तिलोत्तमाको क्रिमशन अस्पतालमा लगिन्छ भने प्रहरीलाई खबर गरेर ३ जना युवाहरुलाई नियन्त्रणमा लिइन्छ । अन्य युवाहरु भने घटनास्थलबाट फरार हुन सफल हुन्छन् ।