२०८० भाद्र ८, शुक्रबार १५:३७

विराटनगर । उच्च अदालत विराटनगरले सुनसरीस्थित धरान उपमहानगर पालिकाका प्रमुख हर्क राज राई हर्क साम्पाङलाई व्यक्तिका जग्गामा प्रवेश नगर्न आदेश दिएको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।

यसअघि पनि अदालतले सोही आदेश दिएको थियो । जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि व्यक्तिको जमिनमा प्रवेश नगर्न र वृक्षारोपण नगर्न आदेश दिएको थियो ।

धरान–४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा साम्पाङले जबरजस्ती विरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए ।

गत सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद बल्झेको थियो । उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिए । अधिकारी दम्पतीलाई पक्राउ गर्न मेयर साम्पाङले प्रहरीलाई दबाब दिएपछि उनीहरु पुनः अदालत गएपछि दोस्रोपटक सो आदेश आएको हो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय