तौलिहवा, – लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाद्वारा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गर्नुभएको छ । उहाँले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको बताउँदै यसलाई पर्यटकमैत्री बनाउनेतर्फ ध्यान दिने बताउनुभयो । संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्रीसमेत रहेका लामाले प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तु निकै महत्त्वपूर्ण स्थल रहेकाले यहाँ तीर्थालुहरूलाई मध्यनजर गरी ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक देखिएकाले पहल गर्ने बताउनुभयो ।
बृहत्तर लुम्बिनी बुद्धिस्ट सर्किट बनाउने र यसको प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरी आगामी महिनादेखि हजारौँ धार्मिक पर्यटकहरू भित्राउन सुरु गर्ने उपाध्यक्ष लामाले बताउनुभयो । उपाध्यक्ष डा. लामाले ३ वटा बुद्ध नेपालमै जन्मिएको स्थल भएकाले निकै महत्त्वपूर्ण रहेको भन्दै तिलौराकोट, रामग्राम सहित बृहत्तर लुम्बिनी क्षेत्रको विकास गर्ने उहाँको भनाइ छ उपाध्यक्ष डा.लामासहितको टोलीले कपिलवस्तुको तिलौराकोटसँगै कुदान, गोटीहवा, सगरहवा, निलिहवा, अरौराकोट, सिसनिया र जगदीशपुर ताल लगायत स्थानहरूको अवलोकन तथा निरीक्षण गरेको हो ।