२०८० कार्तिक १५, बुधबार ०७:३३

     गत जेठ १४ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैद मुक्त भएका एक व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या तथा अपहरण गर्ने धम्की दिई २५ लाख रुपैयाँ फिरौती माग गर्ने ५५ वर्षीय रामचन्द्र थापा पक्राउ परेका हुन् ।

थापा यसअघि पटक पटक कैदको सजाय पाएका व्यक्ति हुन् । पछिल्लो पटक २०७५ मंसिर १३ गते उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्षको कैद सजाय तोकेको थियो । राष्ट्रपतिबाट आममाफी पाएको पाँच महिनामै उनी अर्को आरोपमा पक्राउ परेका हुन् ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पंडितका अनुसार थापाले कात्तिक ८ गते साँझ सुवेदीलाई टेलिफोनबाट कल गरेर हिन्दी भाषा प्रयोग गरी धम्क्याएका थिए । २५ लाख रुपैयाँ माग गर्दै उनले अन्याथा सुवेदीको हत्या गर्ने र उनका बालक छोराको अपहरण गर्ने धम्की दिएका थिए । मकवानपुरको हेटौंडा–२ घर भई हाल भरतपुर–९ बस्ने थापाले पछि एनसेल नम्बरबाट बारम्बार फोन गरी धम्की दिएका थिए ।

‘बुधबार साँझ अपरिचित व्यक्तिले फोनमा हिन्दी भाषामा आप ने हमको पचिस लाख देना पडेगा भन्यो । म आश्चर्यमा परें । मैले आप कौन हे, क्यूँ देना हे भनें । उसले ओ सवालका जवाफ हाम अभी दे नही सकते, लेकिन २५ लाख जम्मा करना चाहिए । कल शुभे दस बजे हम कल करेंगे । पैसा लेके रेडी होना, नहीँ तो आपके बेटेको अपहरण करेंगे भन्यो,’ सुवेदीले भने, ‘डरले मैले मसँग यति धेरै पैसा छैन भनें। तर बच्चाको लागि म तयारी गर्छु भनें ।’

९ गते थापाको फेरि फोन आयो । सुवेदीले बार्गेनिङ गरेर २५ लाखबाट २० लाख रुपैयाँमा घटाए । थापाले उक्त रकम नदिए बाबु छोरालाई नै सुट गर्ने धम्की दिए । लगातारको धम्कीका कारण त्रसित भएपछि सुवेदी प्रहरीको सम्पर्कमा पुगे । सुवेदीले प्रहरी कार्यालयमा निवेदन दिएपछि जिल्ला प्रहरीले प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गर्‍यो ।

‘बारम्बार फोन गरेर धम्की दिइरहे पनि बोलाएको ठाउँमा ऊ भेटिएन । सायद उसले भेट्न खतरा देखेको हुन सक्छ,’ सुवेदीले भने, ‘सोमबार साँझ भरतपुर अस्पतालको नयाँ गेट नजिकै भेट्न बोलायो । मैले पैसा दिनै लाग्दा प्रहरीले उसलाई समातिहाल्यो ।’ डिएसपी पंडितले सुवेदीसँग पैसा माग गर्दै गरेको अवस्थामा थापालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘रेकर्ड हेर्दा विगतमा चितवन र ललितपुरमा चोरी, अवैध हातहतियार देखाई डाँकासम्बन्धी कसूर, लागूऔषध लगायतका मुद्दा ऊविरूद्ध दर्ता भएका रहेछन् । ९ वर्षको कैद सजाय पाएको व्यक्ति ४ वर्ष ६ महिना ३ दिनमा आममाफी पाएर छुटेको रहेछ,’ डिएसपी पंडितले भने, ‘जानकारी पाएलगत्तै विशेष प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिन सफल भयौं ।’

थापाको परिवारसँग सुवेदीको चिनजान १७ वर्ष पुरानो हो । थापाकी श्रीमती सुवेदीको क्लिनिकमा मधुमेहको उपचार गराउँथिन् । सुवेदीले थापालाई कैद सजाय भएको र आममाफी पाएर छुटेको कुरा पनि थाहा थियो । ‘तर मलाई फोन गरेर धम्काउने व्यक्ति ऊ नै होला भन्ने कुरा त मैले कल्पना पनि गरेको थिइनँ,’ सुवेदीले भने, ‘सुरूआतमा २५ लाख रुपैयाँ माग्दा आश्चर्यमा परेको थिएँ । पछि रकम माग्ने व्यक्तिलाई देख्दा चकित भएँ ।’

थापालाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरू गरिएको डिएसपी पंडितले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय