कपिलवस्तु,
कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं.७मा रहेको फुलबारी सामुदायीक वनमा अहिले प्रशस्त बिरुवा रोपिएको र झाडि फाँडेर सरसफाइ गरेको देख्न सकिन्छ । वर्षेनी रूख काटिरहने तर काटिए जति बिरुवा नरोप्ने प्रचलनले वन क्षेत्र मासिदै गैरहेको समयमा फुलबारी सामुदायिक वनमा भने खाली ठाउँमा प्रशस्त बिरुवा रोपिएको हो । त्यति मात्र हैन वनमा अनावश्यक झाडि फाँडेर सरसफाइ समेत गरिएको छ ।
यस वनले पछिल्लो समय वन व्यवस्थापनको लागि विभिन्न उत्कृष्ट कार्य गर्दै आइरहेको छ । अतिक्रमणका कारण विश्व बाटै सङ्कुचित बन्दै गैरहेको वन क्षेत्रलाई वृद्धि गर्न यस्ता कार्य गर्दै आइरहेको वनका अध्यक्ष जयलाल गिरीले बताए।
उनले आफू अध्यक्ष भएर आएदेखि वनलाई व्यवस्थित बनाउन आफू र सिङ्गो टिम लगातार खटिरहेको बताए । अध्यक्ष गिरीले भने, “हाम्रो वनमा साधन स्रोत प्रशस्त छ, यसको सही सदुपयोग गर्नेमा हामी सचेत छौँ । वनको सही व्यवस्थापन गर्न हामिले अहिले वृक्षरोपण र झाडि सरसफाइ लाई तिव्र रुपमा अगाडि बढाई रहेका छौँ ।”
अहिले वनमा साल, सिसौ, खयर, अमला लगायत विभिन्न प्रकारका काठ र फलफूल जन्य बिरुवाहरू समेत लगाएको बताए । लगाएका बिरुवाको संरक्षण र संवर्द्धन गर्न पनि आफूहरूले विभिन्न योजनाका साथ काम गरिरहेको बताए ।