बुटवल,
नयाँ बर्ष २०२४को अवसरमा लुम्विनीमा प्रादेशीक फूड फेस्टीवल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई एकै ठाउंमा जम्मा गराई खानाको स्वाद चखाउने र कलासंस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित अंग्रेजी नयां बर्ष २०२४ को पूर्वसन्ध्यामा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रदेशस्तरीय सांस्कृतिक एवं सडक खाना महोत्सव हुने भएको छ। लुम्बिनी होटल संघ नेपालको आयोजनामा ३१ डिसेम्बर अर्थात् पुस १५ गते सांझ महोत्सव हुन लागेको हो। आयोजकले बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी स्थानीय कलासंस्कृति, उत्पादन र खाना एवं पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको जानकारी दिएका छन्।
संघले आयोजना गर्न लागेको यो दसौं संस्करणको सडक खाना महोत्सव हो। संघका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले सिथिल बनिरहेको पर्यटन बजार र लुम्बिनी क्षेत्रलाई चलायमान बनाउन खाना महोत्सवले सहयोग पुर्याउने विश्वास व्यक्त गरे। लुम्बिनीमा रहेका विभिन्न अन्तर्राष्ट्रिय बिहार र स्वदेशी विभिन्न समुदाय समेतको सहयोगमा महोत्सवको आयोजना गरिएको ज्ञवालीले बताए।लुम्बिनीमा रहेका चीन, जापान, कोरिया, भियतनाम, कम्बोडिया, म्यानमार, श्रीलंका लगायतका बिहारको सहयोगमा बिदेशी परिकार र स्वदेशी स्थानीय विभिन्न परिकार सडक खाना महोत्सवमा उपलब्ध हुने छन्। यस्तै, पांच तारे होटेल देखि स्थानीय विभिन्न जाती र समुदायको प्रचलित खाना सडकमैं उपलब्ध गराइने छ।
संघका अनुसार, महोत्सवमा बिदेशी खानाको साथमा स्वदेशी झिनिया रोटी, बटुक, हांसको छोइला, चुकौनी, इम्रिती मिठाइ, लगायतका खाने परिकार उपलब्ध गराइने छ। महोत्सवलाई भब्य बनाउन स्थानिय र राष्ट्रिय कलाकारको साथमा नौमती, पंचेबाजा, बिरहा, थारु, झुमरा लगायतका सांस्कृतिक कार्यक्रम समावेश छन्।
लुम्बिनी क्षेत्रमा पाइने कालानामक र टिन्नी चामल, इम्रिती, पेडा, थाइ मिठाइ, लुम्बिनीको अग्र्यानिक धुप, हस्तकलाका सामाग्री र अन्य स्थानीय उत्पादन कोसेलीको रुपमा उपलब्ध गराइने छ। लुम्बिनी होटल संघका बष्ठि उपाध्यक्ष लीलामणि शर्माले डिसेम्बर ३१ र जनवरी १ का दिन लुम्बिनी क्षेत्रका होटलमा १५ प्रतिशत छुट उपलब्ध गराइएको बताए। महोत्सवमा लुम्बिनी आउने ठूलो संख्याका भारतीय पर्यटकको सहजताका लागि सीमा नाकाहरुमा भारतीय र नेपाली सुरक्षा निकायसंग समन्वय गरिएको संघका महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिए।
महोत्सव अवलोकनका लागि २० हजार बढी भारतीय पर्यटक र ३० हजार हाराहारी आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको छ। महोत्सवमा ६० वटा विभिन्न खानाका परिकार र स्थानीय उत्पादनका स्टल राखिने छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले सडक खाना महोत्सव यस क्षेत्रको पहिचान बनेको र पर्यटन प्रबद्र्धन एवं स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याएको बताए। उनले पालिकाले सबै किसिमका सहयोग गरेर महोत्सव सफल पार्न सहयोग गर्ने बताए।
२०८० पुष १२, बिहीबार ०७:०३
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech