२०८० पुष २९, आईतवार १२:०७

गौर ।
जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आज आइतवारलाई तोकेको छ । अदालतले काँग्रेस नेता आलम लगायतका ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर गरेको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि सो दिन पेसी तोकेको हो ।
गएको मंसिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन । सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आगामी पुस २९ गते आइतबारका लागि पेसी तारेख दिएको छ । आलम हाल थुनामा रहेका छन् ।

आलमको मुद्दामा आजबाट सुनुवाई हुने भएपछि आलम समर्थकहरु खुशि भएका छन् । उनीहरुले आलम चाडै छुट्ने अनुमान लगाउदै आएकाछन् । २७ चैत २०६४ मा राजपुर फरहदवामा भएको बम बिस्फोट गराएको आरोप छ । त्यस बेला भएको बिस्फोटमा दुई जनाको ज्यान गएको थियो ।

राजपुरमा भएको बम विस्फोटमा मृत्यु भएकाहरुलाई जलाउन प्रयोग गरिएको राजा ईटा उद्योगमा काम गर्ने एक प्रत्यक्षदर्शीले बम विस्फोटमा परी घाइते भएका र मृत्यु भएकाहरुलाई ईटाभट्टामा जलाएको आफूले प्रत्यक्ष दिएको बयान दिएका थिए । राजा ईटा उद्योगमै काम गर्ने राजेश प्रसाद सहनीले घटनाबारे यस्तो बयान दिएका थिए ।

‘राति करिब १२ः३० बजे देखि १ः०० बजेको बिचको समयमा ट्रयाक्टरको आवाज र मानिसहरुको खैलाबैलाले मेरो निद्रा भङ्ग गरायो । म उठेँ, के रहेछ, रातको समयमा किन ट्रयाक्टरमा मानिस आएका हुन् भनी डर लाग्यो । बद्री सहनी समेत सँगै देखेँ । बद्रीलाई सँगै देखेपछि मलाई नजिक गएर बुझ्न मन लाग्यो, नजिक गएँ । ट्रयाक्टर नजिक पुग्दा मोहमद अफताब आलम, निजका भाइ मोहमद महताब आलम लगायत करिब आधा दर्जन मानिसहरु थिए, उनीहरु नेता भएकाले मैले चिनेँ । अरुलाई चिन्न सकिनँ, कोको थिए । बद्री सहनी समेत सोही ट्रयाक्टरमा सँगै आएका रहेछन् । ट्रयाक्टरमा जुटको बोरामा मानिस हालेर ल्याएको रहेछन् ।

त्यो देखेर म धेरै डराएँ, मलाई निजहरुले ठुलो स्वरमा त्यहाँबाट टाढा जान आदेश दिए, म केही पर गएँ । बोरामा ल्याएका मानिसहरु पालैपालो निकाल्दै ईट्टा पोल्ने भुङ्ग्रोमा हाल्न लागे । निजहरुले कति मानिसहरु ल्याए, यकिनका साथ सङ्ख्या भन्न सक्दिनँ । मलाई केही पर पठाएको कारण गन्न सकिनँ, जसमध्ये कोही जिउँदै पनि हुनुपर्छ, किनकि मैले बोरामा चलमलाएको देखेको थिएँ । बद्री सहनीसमेत जलाउने काममा प्रत्यक्ष सहभागी बनेका थिए । उनीहरुले करिब ३ घण्टा लगाएर जलाइसके पश्चात सबै जना गाउँतिर फर्केका थिए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय