२०८० माघ ४, बिहीबार २०:४२

काठमाण्डौ –

सरकार फेरबदलको विषयमा केही समय शान्त रहेको नेकपा एमालेले सत्ताको खेलमा फर्किने सङ्केत गरेको छ । केही समयअघिसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले एमाले सत्ताको खेलमा नलाग्ने र गठबन्धनलाई नचलाउने बताउँदै आउनुभएको थियो । तर आज भने ओलीको बोली फेरिएको छ । उहाँले नेकपा एमाले पनि अब सत्ताको खेलका लागि तयार रहेको सङ्केत दिनुभएको हो ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान गठबन्धनले देशलाई बरबादीतर्फ लगिरहेको भन्दै आउँदो चुनाव अर्थात् २०८४ सालसम्म कुर्न नसक्ने बताउनुभएको हो । ओलीले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ । देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ । हामी मिसन ८४ मा छौँ । मिसन ८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ । हामी मात्रै हो एक्लै चुनाव लड्ने । तर साना साना अङ्क जोडेर सबै मिलेर सरकार बनाएका छन् । सरकार कस्तो छ भने तरकारी बारीको बुख्याँचाजस्तो छ । केही गर्ने होइन त्यसले । यस स्थितिमा हामीले मिसन ८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बरबाद भयो भने मिसन ८४ भनेर पर्खिएर हुँदैन । उस्तै पर्‍यो भने यो गठबन्धन भत्काउनुपर्छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाउनुभयो । उहाँले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको र एमालेले नै जोगाउनुपर्ने पनि जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय