हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे कार्यकालको लागि अध्यक्ष पदका युवा उम्मेद्वार मोहन न्यौपानेलाई असफल पार्न महागठबन्धन प्यानल तयार गरिएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चामा समर्थित प्यानल बनाएसंगै युवा व्यवसायी अध्यक्ष पदका उम्मेद्वार मोहन न्यौपानेले घेराबन्दी तोडेर निस्कने बताउनुभएको छ । संघको हितको लागि अध्यक्ष पदमा उठ्दै गर्दा चारैतिरबाट घेराबन्दी भएको भन्दै अन्त्यमा त्यसलाई तोडेर जित हासिल गर्ने न्यौपानेको भनाई छ ।
एसोसियट उपाध्यक्षमा बुद्धि पौडेल र बस्तुगत उपाध्यक्षमा रनेन्द्र सेनलाई अघि सार्नुभएका उहाँले शुक्रबार युवा व्यवसायीहरु सहितको प्यानल सार्वजनिक गर्ने बताउनुभयो ।
विपक्षीको प्यानलले पुरानो पुस्तालाई मात्र प्रतिनिधित्व गर्ने हुनाले आफूले ४० बर्षभन्दा मुनिका ब्यक्तिको प्यानल बनाउन लागेको उहाँले बताउनुभयो । महागठबन्धन बनाएर संघको मातहतको क्षेत्रलाई समेट्न नसकेको भन्दै उनीहरुको प्यानल चार नम्बर र बैरियाका ब्यवसायीले भरिएको न्यौपानेको आरोप छ । समावेशी र समानुपातिकतालाई पनि कुल्चेर विपक्षीले प्यानल बनाएको भन्दै आफूहरुले सबैलाई समेटेर जाने उहाँले बताउनुभयो ।
सबै वडाहरुमा पुगेर हरेक मतदाताको मत बिस्लेषण पछी चुनाव भएमा फराकिलो अन्तरले जित्ने आधार सहित न्योपानेले नेतृत्व दाबी गर्नुभएको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामै अध्ययन गरि स्थायी बसोबास गर्नुभएका न्यौपाने महाशक्ति एग्रो ईण्डष्ट्रिज टि.भि.एस. सोरुमा बाणगंगा अटो ट्रेडर्स सञ्चालन गर्दै आउनुभएको छ । अध्यक्ष पदका उम्मेद्वार न्यौपाने तत्कालिन कपिलवस्तु व्यापार संघको स्थापना काल वि.स.२०५८ देखि विभिन्न समिति उप– समितिमा रही काम गर्नुभएका न्यौपाने व्यवसायीहरुको लोकप्रिय मानिनुहुन्छ ।
वि.स.२०७४ सालमा छैंठौं अधिवेशनबाट उमानाथ पौडेलको नेतृत्वमा गठन भएको वाणिज्य संघमा न्यौपाने कोषाध्यक्षमा निर्वाचित हुनुभयो । आफु कोषाध्यक्ष पदमा रहदा उद्योग वाणिज्य संघको ४ तले भवन निर्माणमा महत्वपुर्ण योगदान गर्नुभएका न्यौपानेले अर्को समितिलाई पद हस्तान्त्रण गर्दा लाखौ बैंक मौज्दात अर्को समितिलाई हस्तान्त्रण गर्न सफल हुनुभएको थियो ।
त्यस्तै कोषाध्यक्ष पदमै रहदा वाणिज्य संघका पदाधिकारी तथा सदस्यलाई चाईना एक्स्पोमा भ्रमण गराउनुभएको थियो भने सबैको सहमतिमा कार्यतालिका निर्माण गरि उल्लेखित कार्यतालिका अनुसार वाणिज्य संघको कार्य अगाडि बढाउने सुरुवात गर्नुका साथै अक्षय कोष स्थापनामा न्यौपानेले महत्वपुर्ण योगदान गर्नुभएको थियो ।
त्यस्तै अघिल्लो कार्यकाल कोषाध्यक्ष पदमा रहनुभएका न्यौपाने सातौं अधिवेशनबाट दोलखराम घिमिरेको नेतृत्वमा गठन भएको समितिमा पदमोह छाडेर लेखा समिति संयोजकको जिम्मेवारी कुशलता पुर्वक पुरा गर्नुभएका न्यौपाने पश्चिमाञ्चल वस व्यवसायी समितिको सल्लाहकार बनी सक्नुभएको छ । न्यौपानले निर्वाचनमा व्यवसायीहरुले रुचाएका नेतृत्व गर्न सक्ने आवश्यक वौद्धिक र शैक्षिक व्यक्तिहरुसंग समन्वय गरि अबको केहि दिनमै प्यानल नै घोषणा गरि सार्वजनिक गर्ने बताउनुभएको छ ।
यस्ता छन् अध्यक्ष पदका उम्मेद्वार न्यौपानेका एजेन्डा
यसरी सुरुवात देखि कुनै पनि विवादमा नआएका न्यौपाने अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरिरहदा नेतृत्वमा गएसंगै उहाँले विभिन्न एजेण्डा अगाडि सार्नुभएको छ । आर्थिक पारदर्शितामा अब्बल कुरा कम काम बढी गर्ने युवा मोहन न्यौपानेले सु–शासन, पारदर्शिता, राहत कोष तथा विमा स्थापना, औद्योगिक कोरिडोरको स्थापना, व्यवसायी र वित्तिय संघ संस्थासंग केन्द्रमा समन्वय गर्ने, पर्यटनलाई व्यवसायसंग जोड्ने जस्ता महत्वपुर्ण एजेन्डा प्रस्तुत गरिरहदा व्यवसायीहरु उत्साहित बनेका छन् ।
अर्कोतर्फ रमेश चन्द्र भुसालले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताइरहेका छन् । माघ २३ गते संघको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशन हुँदैछ । अधिवेशनलाई लिएर अहिले चुनावी चटारो छ।









