२०८० चैत्र २४, शनिबार १२:३३

अर्घाखाँची –

भूमिकास्थानमा चुनढुंगा उत्खननको विषयलाई लिएर विवाद बढ्दै गएको छ । नगरपालिकाबाट गरिएको सिफारिस किर्ते भएकोबारेमा मेयर झविलाल थापाले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी दिनुभएको थियो । तर उजुरी दिँदा आफुलाई थाहै नदिएको, आफ्ना मान्छेलाई जोगाउन खाजेको, मेयरले एकलौटी गरेको भन्दै उपमेयर बालकृष्ण बन्जाडेसहित भूमिकास्थान नगर कार्यपालिकाका बहुमत सदस्यले विरोध गरेका छन् ।

किर्ते भनिएको सिफारिस दिएका व्यक्तिको नामै तोकेर विजया सिमेन्टले खानी तथा भूगर्भ विभागमा पत्र पठाउँदा पनि ती व्यक्तिलाई बचाउन मेयर लागि परेको आरोपसहित उपमेयरसहितका सदस्यले असन्तुष्टी जनाएका छन् । भूमिकास्थान नगरपालिका वडा नम्बर–९, ढिकुराको सान्डेभामा रहेको चुनढुङ्गा उत्खनन्को विषयमा जालझेल भएको र आफूहरु यसको विरोधमा रहेको वडा नम्वर–५ का वडा अध्यक्ष जयगोपाल श्रेष्ठले बताउनुभयो ।

कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्सले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खनन्को अनुमति–पत्र पाएको थियो । नगरपालिकाको कार्यालयले गएको मङ्सिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ ।

मङ्सिर ५ गते नगरपालिकाको लेटरप्याडमा मेयर थापाको हस्ताक्षरसहितको पत्र विभागमा पुगेको थियो । तर पत्र नगरपालिकाबाट नलेखिएको मेयर थापाको दावी छ । नगरपालिकाको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर चुनढुङ्गाको उत्खनन् अनुमती लिइएको उहाँको भनाई छ ।

चुनढुंगा विवादले नगरपालिकाको कार्यपालिकाको बैठक पनि बस्न सकेको छैन । खानेपानीको मुहान रहेको क्षेत्रमा पर्ने चुनढुंगा खानी उत्खनन्मा नगरपालिकाको लेटरप्याड चोरी गरेर किर्ते सिफारिस बनाउनेलाई कारबाही नभएसम्म कार्यपालिकाको बैठक बस्न नसक्ने वडा नम्वर–७ का वडाअध्यक्ष रामचन्द्र ढुंगानाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय