२०८१ श्रावण १०, बिहीबार १०:१०

काठमाण्डौ 

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको छ ।

यस्तै, खरिददर १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ । हिजो १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २१ पैसा र खरिददर १३३ रुपैयाँ ६१ पैसा थियो । केही हप्तायता स्थिर रहेको डलरको मूल्य अस्ति मङ्गलवारदेखि बढ्न थालेको हो ।

भारतले बजेटमार्फत पुँजीगत लाभकर बढाएपछि अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनियम दर भएकाले भारतीय बजारमा तय हुने मूल्यका आधारमा नेपालमा डलरको मूल्य तय हुन्छ ।

फलस्वरुप भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँसमेत कमजोर हुन्छ । नेपाली बजारमा यसअघि २०७९ कात्तिक पहिलो हप्ता डलरको मूल्य १३३ रुपैयाँ १४ पैसासम्म पुगेर रेकर्ड कायम भएको थियो । त्यसपछि घटेर १३० रुपैयाँ हाराहारी रहेकोमा पोहोर असोजदेखि फेरि डलरको मूल्य बढ्न थालेको हो ।

डलर महँगो हुँदा रेमिट्यान्स आप्रवाह, वस्तु तथा सेवा निर्यात र पर्यटकबाट हुने आम्दानी बढ्छ । तर वस्तु तथा सेवा आयात र विदेशी ऋणको ब्याज भुक्तानीमा बढी रकम खर्च गर्नुपर्ने भएकाले डलर बढ्दा विदेशी मुद्रा सञ्चितीमा दबाब बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय