कपिलवस्तु ।
विगत केहि दिनदेखि निकै चर्चामा रहेको ‘पोन्ड क्रस कन्टेस्ट विथ रोप २०२४ ’ डोरीमा झुन्डिएर पोखरी पार गर्ने खेल प्रतियोगिता आज हुँदैछ । दशैँ, तिहार र छठ पर्वको अवसर पारी लायन्स तथा लियो क्लव अफ कपिलवस्तुले यस वर्ष गर्न लागेको यो सबैभन्दा ठुलो योजनाको कार्यक्रम र प्रतियोगिता हो ।
प्रतियोगिता बाणगंगा नगरपालिका वडा नम्बर ३स्थित राजापानी सामुदायिक वनको पोखरीमा विहान ११ बजेदेखि सुरु हुने छ । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।
पछिल्लो दुई वर्ष ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता गरेर चर्चा कमाएको लायन्सले गर्ने यो प्रतियोगिता नेपालमै पहिलोपटक हुन लागेको भन्दै मनोरञ्जन लिन सबैलाई आग्रह गरेका छन् । पानीमाथि झुण्डिएर हातको सहायताबाट करिब ७० वटा रिंगहरु पार गर्नेगरी संचना तयार गरिएको छ ।
यहि संरचनामा सिनियर र जुनियर गरी करिब २ सय प्रतियोगिले भाग लिएको खेल संयोजक राम शुभागे थारुले बताए । यो खेल नौलो रहेकोले खेलमा आयोजककै नियमहरु रहेको उनको भनाई छ ।यो खेल अहिलेसम्म नेपालमा कहिँ कतै भएको नपाइएकाले यो खेल पनि साइकल प्ल्यांकजस्तै नेपालमै पहिलोपटक हुन लागेको संयोजक थारुको दावी छ ।
उनका अनुसार २ उमेर समुह विभाजन गरेर प्रतियोगिता हुनेछ । जुनियरहरु पनि सहभागि बनून् भनेर ८ देखि १६ बर्षकाको लागि त्यहि प्रकारको संरचना तयार गरिन लागेको छ भने त्यो भन्दा माथि जुनसुकै उमेर समुहको सहभागिता हुने गरी अर्को समुह बनाएर खेल खेलाईने थारुले जानकारी दिए ।
स्वास्थ्य र पर्यटनलाई टेवा दिने यो खेल नेपालमै पहिलो हुन लागेको क्लवका अध्यक्ष नवदत्त घिमिरेले बताए ।
प्रतियोगितामा प्रथम हुनेले ५१ हजार, दोश्रोले २५ हजार बढी र तेश्रो र चौथोले पनि पुरस्कार पाउने थारुले जानकारी दिए । जुनियरतर्फ पनि पहिलो हुनेले ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
यस खेललाई सहासिक खेलको रुपमा लिइएको बताउँदै दर्शकलाई भरपुर मनोरञ्जन लिन अध्यक्ष नवदत्त घिमिरेले सबैलाई आग्रह गरे ।
सुरक्षालाई दृष्टिगत गरी खेलाडीलाई कुनै प्रकारको जोखिम नहुने गरी तयारी भइरहेको क्लवका पूर्वअध्यक्ष सुरेन्द्र घिमिरेले बताए ।
प्रतियोगिता सम्पन्न गर्नको लागि करिब ८ लाख खर्च हुने क्लवको अपेक्षा छ । खेल संगै आज बिभिन्न सांस्कृतिक कार्यक्रम, लक्की ड्रमार्फत् विभिन्न पुरस्कारहरु जित्ने अवसर पनि राखिएको क्लवले बतायो ।