श्रीलङ्का सरकारले हरेक सांसदलाई इन्धन किफायती गाडी दिने भएको छ । सांसदहरूलाई विलासी र महँगा गाडी किन्न रोक लगाउँदै सरकार आफैँले सस्ता तर इन्धन किफायती गाडी दिने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सार्वजनिक सुरक्षा तथा संसदीय मामिलामन्त्री आनन्द विजेपालाले सांसदहरूले आफ्नै खर्चमा पनि विलासी गाडी किन्न नपाउने बताउनुभएको छ । करको पैसालाई प्रभावकारी तरिकाले प्रयोग गर्नका लागि यस्तो निर्णय लिइएको भन्दै उहाँले सरकारले खर्च कम गर्न थुप्रै सुधारहरू थाल्ने बताउनुभएको खबरमा उल्लेख छ । सरकारले दिएका गाडी सांसदहरूले आफ्नो कार्यकालभित्र मात्रै प्रयोग गर्न पाउनेछन् ।
श्रीलङ्काले यसअघि हरेक सांसदलाई भन्सार शुल्क नलगाई विलासी गाडी आयात गर्ने र स्वामित्व लिने अवसर दिएको थियो । तर अहिले निर्वाचित भएको कम्युनिस्ट बहुमत सरकारले यस्ता सुविधा र छुट नदिने बताएको छ ।
राष्ट्रपति अनुरा कुमारा दिशानायकेले पहिलेको सरकारले दिएका अनावश्यक छुटलाई हटाउने अभियान चलाउनुभएको छ ।