२०८३ असार २७, शनिबार १६:४६

कपिलवस्तु,२७ असार । बाणगंगा नगरपालिकामा वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेको भूमि सम्बन्धी समस्याको निराकरणका लागि गठन गरिएको भूमि समस्या समाधान समितिले खटाएका अमिन तथा सर्वेक्षकहरू कार्यक्षेत्रमा हाजिर भएका छन्। टोलीको आगमनसँगै नगरभित्र जग्गा नापजाँच, तथ्याङ्क संकलन तथा आवश्यक प्राविधिक कार्यलाई तीव्र रूपमा अघि बढाइने भएको छ।प्रमुख जिल्ला अधिकारी जनार्जन गौतमको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समितिको निर्णयअनुसार खुस्बु रानाको नेतृत्वमा नौ सदस्यीय प्राविधिक टोली बाणगंगा नगरपालिकामा खटाइएको हो। टोलीले नगरका विभिन्न वडामा रहेका भूमिसम्बन्धी समस्या पहिचान, नापजाँच, तथ्याङ्क संकलन तथा आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्ने जिम्मेवारी पाएको छ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीका अनुसार टोलीलाई नगरपालिकाको साविक पशु सेवा शाखाको भवनमा कार्यालय तथा आवासको व्यवस्था गरिएको छ। टोलीले तत्कालै आफ्नो कार्य प्रारम्भ गर्ने गरी आवश्यक भौतिक तथा प्रशासनिक व्यवस्थापन नगरपालिकाले मिलाइसकेको उहाँले जानकारी दिनुभयो।टोलीलाई स्वागत गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले भूमि समस्या समाधानको कार्य नगरका नागरिकका लागि अत्यन्त महत्वपूर्ण भएकाले कुनै ढिलासुस्ती नगरी जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभयो। उहाँले भूमि व्यवस्थापनसँग सम्बन्धित कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै प्रकारको सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।नगर प्रमुख अर्यालले भन्नुभयो, “यो कार्य हजारौँ नागरिकको चासो र आवश्यकतासँग जोडिएको विषय हो। त्यसैले कामलाई तीव्रता दिनुहोस्। आवश्यक परे राति–दिन जुनसुकै समयमा पनि खटिएर समयमै काम सम्पन्न गर्नुस्। नगरपालिकाले आवश्यक सबै व्यवस्था र सहयोग उपलब्ध गराउनेछ।”

भूमि समस्या समाधानका लागि प्राविधिक टोली परिचालन भएपछि नगरका अव्यवस्थित बसोबासी, भूमिहीन तथा जग्गा नापजाँचसँग सम्बन्धित विभिन्न समस्या समाधान हुने अपेक्षा गरिएको छ। टोलीले सम्बन्धित वडासँग समन्वय गरी आवश्यक विवरण संकलन, फिल्ड निरीक्षण, नक्साङ्कन तथा प्राविधिक प्रतिवेदन तयार गर्नेछ। त्यसपछि सम्बन्धित निकायमार्फत थप प्रक्रिया अघि बढाइने जनाइएको छ।स्थानीयवासीहरूले पनि टोलीको आगमनसँगै लामो समयदेखि थाँती रहेका भूमि व्यवस्थापनका कार्यले गति लिने विश्वास व्यक्त गरेका छन्। बाणगंगा नगरपालिकाले समेत भूमि व्यवस्थापनलाई प्राथमिकतामा राख्दै संघीय तथा जिल्ला तहका निकायसँग निरन्तर समन्वय गर्दै आएको जनाएको छ।

प्राविधिक टोलीको सक्रिय परिचालनसँगै बाणगंगा नगरपालिकामा भूमि समस्या समाधानको प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। यसले दीर्घकालदेखि जग्गा सम्बन्धी अन्योल र कानुनी जटिलतामा रहेका नागरिकलाई राहत पुग्नुका साथै व्यवस्थित भूमि प्रशासन स्थापना गर्न समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय