२०८३ श्रावण १३, बुधबार ०९:४१

 

कपिलवस्तु  १३ साउन ।एसईई नतिजामा हथौसा लिटिलस्टारलाई उत्तरपुस्तिका   पुनः परीक्षणबाट  सफलता मिलेको छ ।  पहिला देखी नै  मेधाबी छात्राको रुपमा चिनिएकी  प्रतीक्षाको  ४ जिपिए  आएको छ ।
हथौसा लिटल स्टार इङ्गलिस बोर्डिङ स्कुलकी मेधावी छात्रा प्रतीक्षा शर्माले एसईई परीक्षा २०८२ को प्रारम्भिक नतिजामा अपेक्षाभन्दा निकै कम जीपीए प्राप्त गरेपछि  पुनः परीक्षण पश्चात् जीपीए ४.० प्राप्त गरेकी छन्।मूल्याङ्कन प्रक्रियामा हुने सम्भावित पूर्वाग्रह र त्रुटिको कारण यस्तो हुन पुगेको देखिन्छ ।
प्रारम्भिक नतिजामा प्रतीक्षाले अङ्ग्रेजीमा ३.२ र नेपालीमा ३.६ जीपीए प्राप्त गरेकी थिइन्। आफ्नो शैक्षिक प्रदर्शन र परीक्षाको तयारीअनुसार नतिजा नआएको भन्दै विद्यालय र अभिभावकले पुनः परीक्षणको प्रक्रिया अघि बढाएका थिए।
त्यसपछि पुनः योगफल परीक्षण (Re-Totalling), उत्तरपुस्तिका हेर्ने तथा पुनः परीक्षण (Re-Checking) लगायतका तीन चरणका प्रक्रिया पूरा गरिएको थियो। लामो र झन्झटिलो प्रक्रियापछि करिब अढाई महिनामा प्राप्त अन्तिम नतिजामा प्रतीक्षाले जीपीए ४.० प्राप्त गर्न सफल भएकी हुन्।
विद्यालयका अनुसार प्रतीक्षा अध्ययनमा अब्बल छात्रा हुन्। उनी विद्यालयमा अध्ययनरत रहँदा विभिन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएकी थिइन्। तर एसईई २०८२ को प्रारम्भिक नतिजामा उनले अपेक्षा गरेभन्दा निकै कम जीपीए प्राप्त गरेपछि विद्यार्थी, अभिभावक र विद्यालय परिवारमा निराशा छाएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यले विद्यार्थीले गरेको मेहनतको उचित प्रतिफल प्राप्त गर्नु उसको नैसर्गिक अधिकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षा तथा मूल्याङ्कन प्रणाली निष्पक्ष, पारदर्शी र विश्वसनीय हुनुपर्छ। कुनै पनि त्रुटिका कारण विद्यार्थीले अनावश्यक मानसिक तथा आर्थिक पीडा भोग्नुपर्ने अवस्था आउनु हुँदैन।”
विद्यालयका प्रधानाध्यापक सुन्दर पाण्डेले पुनः परीक्षणपछि प्रतीक्षाले आफ्नो मेहनतको सही प्रतिफल प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले मूल्याङ्कन प्रक्रियामा हुने सम्भावित त्रुटिलाई समयमै सच्याउने प्रभावकारी व्यवस्था आवश्यक रहेको बताउनुभयो।
विद्यालयले सामान्य तथा विपन्न आर्थिक अवस्था भएका अभिभावकका लागि यस्ता जटिल र खर्चिला पुनः परीक्षण प्रक्रिया कठिन हुने भन्दै परीक्षा तथा मूल्याङ्कन प्रणालीमा विद्यार्थीको गुनासो सहज, सरल र सुलभ रूपमा सम्बोधन गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएको छ। यो समस्या एसईईमा मात्र सीमित नभई विगतदेखि नै विभिन्न तहका परीक्षाको नतिजा तथा मूल्याङ्कन प्रणालीसँग जोडिएको विषय भएको जनाइएको छ।
हालै सार्वजनिक कक्षा १२ को नतिजापछि विद्यार्थीमा देखिएको असन्तुष्टिलाई समेत दृष्टिगत गर्दै राज्यले परीक्षा प्रणालीलाई थप विश्वसनीय र विद्यार्थीमैत्री बनाउनुपर्ने विद्यालयको धारणा छ।
विद्यालयका अध्यक्ष आचार्य र प्रिन्सिपल पाण्डेले मूल्याङ्कन प्रक्रियामा हुने सम्भावित पूर्वाग्रह र त्रुटिको अन्त्य गर्दै निष्पक्ष तथा वस्तुनिष्ठ परीक्षा प्रणाली निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
पुनः परीक्षणका क्रममा कपिलवस्तुदेखि काठमाडौँसम्म पटक–पटक यात्रा गर्नुपरेको र यसले विद्यार्थी तथा अभिभावकलाई मानसिक तनावसँगै आर्थिक भारसमेत थपेको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार सम्पूर्ण प्रक्रियामा करिब रु. १ लाख अतिरिक्त खर्च भएको थियो।उनले जीपीए ४.० प्राप्त गरेसँगै हथौसा लिटल स्टार इङ्गलिस बोर्डिङ स्कुलबाट जीपीए ४ प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या थप भएर २ पुगेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय