गुल्मी १३ साउन । निर्माणाधीन रिडी–तम्घास मदन भण्डारी राजमार्गको रेखाङ्कनका क्रममा तम्घास बजार क्षेत्रलाई संरक्षण गर्दै सडक निर्माण कार्य अगाडि बढाउने विषयमा नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग महत्वपूर्ण छलफल सम्पन्न भएको मेयर खिलध्वज पन्थिले बताउनु भएको छ।
छलफलमा तम्घास बजारको ऐतिहासिक, आर्थिक तथा सामाजिक महत्वलाई ध्यानमा राख्दै बजार क्षेत्रलाई जोगाउने विषयमा सैद्धान्तिक सहमति भएको जनाइएको छ। सडक विस्तारसँगै बजारको मौलिकता, व्यापारिक गतिविधि तथा स्थानीय जनजीवनमा पर्ने प्रभावलाई न्यून गर्ने उद्देश्यले वैकल्पिक उपाय अपनाउने विषयमा पनि सहमति बनेको हो।
छलफलका क्रममा रेसुङ्गा नगरपालिकाले अघि सारेको वैकल्पिक बाइपास सडकसम्बन्धी सिफारिस तथा प्रस्तावलाई आधार मानी तत्काल बाइपास मार्गको विस्तृत अध्ययन, आवश्यक प्राविधिक प्रक्रिया तथा कार्यान्वयन अगाडि बढाउने निर्णय भएको छ। यसले राजमार्ग निर्माणलाई निरन्तरता दिँदै तम्घास बजारको संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले तम्घास बजारलाई जोगाउँदै विकासलाई पनि सँगसँगै अघि बढाउने प्रयास सकारात्मक र दीर्घकालीन महत्वको रहेको बताउनुभयो। उहाँले यस पहलबाट स्थानीय नागरिक, व्यवसायी तथा समग्र गुल्मी जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।
स्थानीयवासी र व्यवसायीले पनि बजार क्षेत्रको संरक्षण गर्दै वैकल्पिक बाइपासमार्फत सडक निर्माण अगाडि बढाउने निर्णयलाई स्वागत गरेका छन्। यस पहलले ऐतिहासिक तम्घास बजारको पहिचान जोगाउँदै आधुनिक पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउन महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।









