२०८३ श्रावण २१, बिहीबार ०९:५८

कपिलवस्तु,२२  साउन / बाणगंगा नगरपालिकाले आफ्नो क्षेत्रभित्र जग्गा खरिद–बिक्री गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै जनहितमा सूचना जारी गरेको छ। नगरपालिकाको भूमि शाखाको नामबाट प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जारी गरेको  सूचनामार्फत जग्गा कारोबारअघि आवश्यक कानुनी तथा प्राविधिक पक्षको अनिवार्य रूपमा जाँच गर्न अनुरोध गरेको हो।नगरपालिकाका अनुसार पछिल्लो समय वास्तविक जग्गाधनीबाहेक अन्य व्यक्तिले जग्गा बिक्री गर्ने प्रयास गरेको, सार्वजनिक बाटो, खोल्सा तथा सरकारी जग्गासमेत अतिक्रमण गरी प्लटिङ तथा कारोबार गर्ने घटना देखिएकाले नागरिक सचेत हुन आवश्यक छ।
सूचनामा जग्गा खरिदअघि फिल्ड र नापी नक्सा दुवै अध्ययन गरी सार्वजनिक बाटो, कुलो, खोल्सा, मिचिएको सीमा, उच्च भोल्टेज विद्युत् प्रसारण लाइन, सडकको ‘राइट अफ वे’ (Right of Way), दलदल तथा बाढी प्रभावित क्षेत्रको अवस्था यकिन गर्न भनिएको छ। साथै नगरपालिकाले निर्धारण गरेको प्रयोजनअनुसार जग्गा आवास, कृषि वा व्यावसायिक कुन प्रयोजनका लागि वर्गीकरण गरिएको हो भन्ने विषय पनि बुझ्न आग्रह गरिएको छ।
त्यस्तै, जग्गाको क्षेत्रफल, लालपुर्जा, नक्सा र फिल्डको विवरण मिलेको छ वा छैन, चार किल्लामा कुनै विवाद छ वा छैन तथा घर बनेको जग्गाको हकमा नक्सा पास भएको वा नभएको विषयसमेत सम्बन्धित निकायबाट पुष्टि गर्नुपर्ने नगरपालिकाको सुझाव छ।
नगरपालिकाले ऐलानी, गौचरन, सार्वजनिक तथा सरकारी जग्गाको खरिद–बिक्री कानुनविपरीत हुने भएकाले यस्ता जग्गाको कारोबार नगर्न चेतावनी दिएको छ। कुनै पनि जग्गा खरिद गर्नुअघि नगरपालिका, नापी कार्यालय र मालपोत कार्यालयबाट आवश्यक विवरण प्रमाणित गरी मात्र कारोबार गर्न भूमि शाखाले आग्रह गरेको छ।
नगरपालिकाले सावधानीपूर्वक जग्गा खरिद–बिक्री गर्न सके भविष्यमा हुने कानुनी विवाद, आर्थिक क्षति र झन्झटबाट बच्न सकिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय