२०८३ श्रावण २१, बिहीबार २१:२९
लक्ष्मण सापकोटा कपिलवस्तु २१ साउन ।कपिलवस्तुको बाणगंगास्थित श्रृङ्गिघाट सामुदायिक वनले चालू आर्थिक वर्ष २०८२/०८३ मा रु. ६ करोड ७३ लाखभन्दा बढी आम्दानी गर्दै लुम्बिनी प्रदेशका अन्य सामुदायिक वनहरूलाई धेरै पछाडि पारेर प्रदेश सञ्चित कोषमा सर्वाधिक राजस्व योगदान पुर्याउने अग्रणी संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ। वातावरण संरक्षणसँगै हरित अर्थतन्त्र निर्माणमा यस वनले प्रदेशकै अन्य वनहरूको तुलनामा ऐतिहासिक सफलता हासिल गरेको छ।
लुम्बिनी प्रदेशका अधिकांश साना तथा सामान्य सामुदायिक वनहरूले वार्षिक औसत रु. २५ लाखदेखि ५० लाखसम्म मात्र आम्दानी गर्ने र प्रदेश सरकारलाई रु. ३ देखि ८ लाख मात्र राजस्व बुझाउने गरेको परिप्रेक्ष्यमा श्रृङ्गिघाटले भने रु. ६ करोड ७३ लाख ४६ हजार ४९१ आम्दानी गरेर नयाँ रेकर्ड कायम गरेको छ। संस्थागत पारदर्शिता, उपभोक्ताहरूको सक्रिय सहभागिता र वैज्ञानिक वन व्यवस्थापन पद्धतिको सफल कार्यान्वयनका कारण आन्तरिक खपत तथा बिक्रीबाट रु. १ करोड २२ लाख ४७ हजार २३० र बाह्य बजारमा काठ-दाउरा बिक्री गरी रु. ५ करोड ५० लाख ९९ हजार २६१ आम्दानी भएको हो।
वन पैदावारको बिक्रीबाट प्राप्त आम्दानीमार्फत श्रृङ्गिघाटले सरकारी नियमानुसार आन्तरिक बिक्रीको ५ प्रतिशतले हुन आउने रु. ६ लाख १२ हजार ३६१ र बाह्य बिक्रीको २५ प्रतिशतले हुन आउने रु. १ करोड १६ लाख ३८ हजार १२६ गरी कुल रु. १ करोड २२ लाख ५० हजार ४८७ राजस्व लुम्बिनी प्रदेशको सञ्चित कोषमा जम्मा गरेको छ। अध्यक्ष गणेश बहादुर सिंह ठकुरी (सुशील) का अनुसार प्रदेशलाई बुझाइएको यो राजस्व रकम लुम्बिनी प्रदेशका साना पालिकाहरूले वन क्षेत्रबाट उठाउने कुल वार्षिक राजस्वभन्दा पनि बढी हो।
श्रृङ्गिघाट सामुदायिक बनले लुम्बिनी प्रदेश सरकारलाई बुझाइएको ठूलो रकमपछि बाँकी रहेको धनराशि स्थानीय स्तरमा वन संरक्षण, डढेलो नियन्त्रण, जैविक विविधताको जगेर्ना र उपभोक्ताको सामाजिक-आर्थिक उत्थानका लागि खर्च गरेको सब डिभिजन बन कार्यलय मोतिपुर कपिलवस्तुका प्रमुख एजाज अहमद अन्सारीले बताउनु भयो । उहाले श्रृङ्गिघाट प्रदेशको नमूना बन रहेको स्पस्ट पार्नु भयो ।
।यसका साथै बाणगंगा र जितपुर क्षेत्रमा सडक, खानेपानी, शिक्षा र गरिबी निवारणका कार्यक्रमहरूमा बजेट विनियोजन गरी स्थानीय समृद्धिको बाटो खोलिएको छ। परम्परागत अवधारणालाई बदलेर श्रृङ्गिघाटले देखाएको यो व्यावसायिक र पारदर्शी मोडललाई प्रदेशका अन्य वनहरूले अनुसरण गर्न सके लुम्बिनीको हरित अर्थतन्त्र अझ सुदृढ हुने देखिन्छ।






