कपिलवस्तु १ भदौ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १२औँ साधारणसभा तौलिहवामा सम्पन्न भएको छ। साधारणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले पत्रकारिता क्षेत्रको व्यावसायिकता, जिम्मेवारी र पत्रकारको अधिकारका विषयमा महासंघले निरन्तर काम गरिरहेको बताउनुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
उहाँहरूले स्थानीय तहको विकास, सुशासन, पारदर्शिता र नागरिकका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन सञ्चारमाध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक परिवर्तन ल्याउन तथ्यमा आधारित, जिम्मेवार र निष्पक्ष समाचार सम्प्रेषणलाई प्राथमिकता दिनुपर्नेमा समेत वक्ताहरूले जोड दिएका थिए।
कार्यक्रममा वरिष्ठ पत्रकार पार्वती पाण्डेलगायत सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो। साधारणसभामा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब ८० जना पत्रकार सहभागी भएका थिए।
साधारणसभामा शाखाको सांगठनिक गतिविधि, पत्रकारको व्यावसायिक सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, जिल्लाको पत्रकारिता क्षेत्रका समस्या तथा आगामी कार्ययोजनालगायत विषयमा छलफल गरिएको थियो। सहभागी पत्रकारहरूले पत्रकारको क्षमता अभिवृद्धि, श्रमजीवी पत्रकारको हकहित संरक्षण तथा सञ्चारमाध्यमको संस्थागत विकासका लागि महासंघले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा सचिव सनिउल्लाह धोबीले सञ्चालन गर्नुभएको थियो। साधारणसभाले जिल्लाको पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउँदै पत्रकारहरूको हकहित संरक्षणमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
साधारणसभाले कपिलवस्तुको पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा समीक्षा गर्दै आगामी दिनमा स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठान गर्ने तथा पत्रकारिता क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत जोड दिएको छ।









