२०८३ भाद्र ३, बुधबार १९:३२

काठमाडौं ३ भदौ । नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री बालेन साह पछिल्लो समय राजनीतिक तथा शक्ति–सन्तुलन कमजोर बन्दै गएपछि सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरिरहेको टिप्पणी गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै बादलले वर्तमान सरकारको शक्ति–आधार क्रमशः कमजोर हुँदै गएको दाबी गरे । उनले सरकारको शक्ति स्रोतलाई ‘तीन–ए’ अर्थात् आर्मी, एल्गोरिदम र अमेरिका भनेर व्याख्या गरे ।
उनका अनुसार पपुलिज्मको प्रभाव, एल्गोरिदमको आकर्षण, अवसरवादको भ्रम तथा कथित ‘तीन–ए’को शक्ति कमजोर हुँदै गएपछि सरकार नेतृत्व गर्ने व्यक्ति राजनीतिक रूपमा एक्लोपन र छटपटीको अवस्थामा पुगेका छन् ।
बादलले देशका विभिन्न तिब्बतीयन गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सञ्चय भइरहेको दाबीसमेत गरे । उनले त्यहाँ शक्ति मात्र सञ्चय नभई गत भदौको घटनामा लुटिएका भनिएका हतियारसमेत लुकाइएको हुन सक्ने आशंका व्यक्त गरे ।
सरकारको कार्यशैलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका बादलले विपक्षीमाथि प्रहार गर्नुअघि आफ्नो राजनीतिक अवस्थाबारे विचार गर्न चेतावनी दिए । उनले सरकारलाई ‘१८२ तले सीसाको महल’सँग तुलना गर्दै लोकतान्त्रिक शक्तिहरू एकजुट भए सरकारको संरचना ढल्न सक्ने चेतावनी दिए ।
‘जुन दिन लोकतान्त्रिक शक्तिहरु एकजुट हुन्छन्, त्यो दिन तपाईहरुको महल गर्ल्यामगुर्लुम ढल्नेछ,’ उनले भने ।
बादलले सरकारका पछिल्ला निर्णयहरूले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने जोखिम रहेको समेत बताए । उनले रास्वपाका सांसदहरूले उठाएका विषयलाई उल्लेख गर्दै सरकारको प्राथमिकता र व्यवहारबीच विरोधाभास रहेको आरोप लगाए ।
उनले सरकारले केही समूहलाई खुलेआम गतिविधि गर्न छुट दिएको तर नागरिकका गम्भीर समस्या र आत्महत्याजस्ता घटनाप्रति पर्याप्त संवेदनशीलता नदेखाएको टिप्पणी गरे ।
प्रतिनिधिसभामा बादलको अभिव्यक्ति सरकारको शक्ति, सुरक्षा अवस्था र पछिल्लो राजनीतिक परिस्थितिमाथिको एमालेको कडा आलोचनाका रूपमा आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय