२०८३ भाद्र ४, बिहीबार १२:०५

“स्वस्थ जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवर्द्धन” भन्ने मूल नारालाई आत्मसात् गर्दै बाणगंगा राइडर्स क्लब कपिलवस्तुले दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने भएको छ । साइकलको माध्यमबाट स्वास्थ्य, वातावरण र पर्यटनलाई एउटै अभियानमा जोड्दै कपिलवस्तुको पर्यटनलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित आगामी असोज १० गते शनिबार साइकल यात्रा आयोजना गर्न लागिएको हो ।

क्लबले आज आफ्नै सचिवालयमा पत्रकार सम्मेलन आयोजना गरी यात्राको तयारी, उद्देश्य तथा व्यवस्थापनका विषयमा जानकारी गराएको हो । बाणगंगा र कपिलवस्तुका विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई जोड्दै करिब ७० किलोमिटरको साइकल राइड सञ्चालन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै क्लबका सल्लाहकार एवम् प्रथम साइकल यात्राका संयोजक विष्णु घिमिरेले पहिलो यात्राका क्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै यसपटकको यात्रा अझ व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो । साइकलिङ स्वस्थ जीवनशैली निर्माणका लागि महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै उहाँले पछिल्लो समय किशोर–किशोरी तथा युवामा बढ्दै गएको लागुऔषध दुर्व्यसन न्यूनीकरणमा समेत साइकलिङजस्ता सकारात्मक गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमको प्रेस वक्तव्य कार्यक्रम संयोजक हरि प्रसाद घिमिरेले वाचन गर्नुभएको थियो । वक्तव्यमा साइकल संस्कृतिको विकाससँगै स्वस्थ जीवनशैली, स्वच्छ वातावरण, पर्यटन प्रवर्द्धन, स्थानीय कला–संस्कृति तथा उत्पादनको संरक्षण र प्रवर्द्धनलाई यात्राको प्रमुख उद्देश्यका रूपमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पत्रकारहरूले उठाएका प्रश्नको जवाफ दिँदै क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाले पहिलो यात्राबाट प्राप्त अनुभवलाई आधार बनाएर यसपटक सुरक्षा र व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो ।

सुरक्षा संयन्त्र तथा स्वास्थ्य संस्थासँग समन्वय गरी यात्रालाई सुरक्षित बनाइने, सहभागी प्रत्येक राइडर्सको एकदिने स्वास्थ्य बीमा गरिने तथा आवश्यक स्वास्थ्य तथा सुरक्षा व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष सापकोटाका अनुसार बाणगंगा तथा कपिलवस्तु नगरपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थललाई समेटेर करिब ७० किलोमिटरको राइड सञ्चालन हुनेछ । कार्यक्रमको आर्थिक व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश सरकार, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थासँग सहकार्य र समन्वय गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष सापकोटाले २०८२ साल कार्तिक २९ गते सम्पन्न प्रथम बाणगंगा साइकल यात्राको स्मरण गर्दै उक्त यात्रामा देशका विभिन्न स्थानबाट ५ सय ६२ जना साइकल यात्री सहभागी भएको जानकारी दिनुभयो । पहिलो यात्राबाट प्राप्त अनुभव र सुझावलाई समेट्दै यसपटक अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी कार्यक्रम बनाउने उहाँको भनाइ छ ।

यस वर्षको यात्राको विशेष आकर्षणका रूपमा प्रसिद्ध विश्व साइकल यात्री अजित बराललाई सहभागी गराउने तयारी भइरहेको समेत अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

बाणगंगा राइडर्स क्लबले साइकल यात्रालाई एकदिने कार्यक्रममै सीमित नराखी कपिलवस्तुको पर्यटन र पहिचानलाई देशभर पुर्‍याउने अभियानका रूपमा अघि बढाएको छ । जिल्लाका बुद्धकालीन सम्पदा, धार्मिक तथा सांस्कृतिक स्थल, प्राकृतिक सौन्दर्य र स्थानीय जीवनशैलीलाई साइकल यात्रासँग जोडेर देशका विभिन्न ठाउँका साइकलप्रेमी तथा पर्यटकसम्म पुर्‍याउने क्लबको योजना छ ।

साइकल यात्राले बाणगंगा र कपिलवस्तुका पर्यटकीय गन्तव्यको प्रचारसँगै स्थानीय होटल, होमस्टे, पर्यटन व्यवसाय तथा स्थानीय उत्पादनको बजार विस्तारमा समेत प्रत्यक्ष प्रभाव पार्ने क्लबको भनाइ छ । युवालाई स्वस्थ र सिर्जनात्मक गतिविधिमा जोड्दै लागुऔषध दुर्व्यसनबाट टाढा राख्ने अभियानलाई समेत साइकल यात्रासँग जोडिएको छ ।

 

“स्वस्थ जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवर्द्धन” भन्ने नारासहित अघि बढाइएको यो अभियानले यसपटक बाणगंगा हुँदै कपिलवस्तुका पर्यटकीय गन्तव्यलाई साइकलको पेडलसँग जोडेर जिल्लाको पर्यटनलाई देशभर चिनाउने सन्देश दिनेछ ।

कार्यक्रम क्लबका सचिव रामचन्द्र बेल्बासेको सञ्चालन तथा उपाध्यक्ष तुलसिराम भुषालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय