२०८३ भाद्र ५, शुक्रबार १५:४५

भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँस्थित भारतीय दूतावासको आयोजनामा कपिलवस्तुको तौलिहवामा भव्य सांगीतिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई संगीत र संस्कृतिमार्फत थप आत्मीय बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली तथा भारतीय समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रसिद्ध भारतीय गायक राजेश पाण्डेले ‘जब शून्य दिया मेरे भारत ने’ लगायत लोकप्रिय देशभक्तिपूर्ण गीत प्रस्तुत गर्दै तौलिहवाको माहोललाई संगीतमय बनाएका थिए। उनका प्रस्तुतिमा दर्शकहरूले उत्साहपूर्वक साथ दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नेपाल–भारत सम्बन्ध कूटनीतिक सम्बन्धमा मात्र सीमित नभई गहिरो सांस्कृतिक, सामाजिक र पारिवारिक आत्मीयतामा आधारित रहेको बताए। गौतम बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुसँग जोडिएको क्षेत्रमा यस्ता सांस्कृतिक कार्यक्रम आयोजना हुनु दुई देशको साझा बौद्ध तथा सांस्कृतिक सम्पदाको आत्मीय सम्बन्धको प्रतीक भएको उनको भनाइ थियो।

भारतीय दूतावासका संयोजक वसीम मलिकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, कलाकार, सहभागी तथा दर्शकहरूप्रति आभार व्यक्त गर्दै सांस्कृतिक आदानप्रदानले नेपाल–भारतबीचको सद्भाव, समझदारी र मित्रतालाई थप मजबुत बनाउने बताए।

लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीको समन्वयमा सम्पन्न कार्यक्रममा दूतावासका किमोद थापा, भारतीय दूतावासका प्रतिनिधि अरविन्द सिंह, विजय गाउँपालिकाका अध्यक्ष गोपाल थापा, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे तथा प्रहरी उपरीक्षकहरू मनोहर भट्ट र गोपाल अधिकारीलगायतको सहभागिता रहेको थियो।

भारतीय संगीत, देशभक्तिपूर्ण गीत तथा सांस्कृतिक प्रस्तुतिले तौलिहवाको साँझलाई उल्लासमय बनाएको थियो। नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई कला, संगीत र संस्कृतिको माध्यमबाट थप नजिक ल्याउने यस्ता कार्यक्रमले दुई देशका नागरिकबीचको आत्मीयता र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने सन्देश दिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय