२०८३ भाद्र १२, शुक्रबार १६:३५

लुम्बिनी, १२ भदौ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा प्रभावितहरूका लागि शान्ति प्रार्थना गरिएको छ।

पवित्र पूर्णिमाको अवसरमा लुम्बिनीस्थित पवित्र बगैंचामा आयोजित विशेष कार्यक्रममा बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको हो।

लुम्बिनी विकास कोषका भिक्षु, भिक्षुणी, गुरु तथा कर्मचारीहरूको उपस्थितिमा भएको कार्यक्रममा भोटेकोशी बाढीबाट प्रभावित परिवारको दुःखमा ऐक्यबद्धता जनाउँदै उनीहरूको साहस, धैर्य र मनोबलका लागि प्रार्थना गरिएको थियो।

कार्यक्रममा बाढीका कारण बेपत्ता भएकाहरू सकुशल फेला परून्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् तथा प्रभावित परिवारले आवश्यक सहयोग र सहारा प्राप्त गरून् भन्ने कामना गरिएको थियो। साथै, विपद्का कारण पीडामा रहेका सबैप्रति करुणा, मैत्री र मानवताको भावना प्रकट गर्दै शान्तिको कामना गरिएको थियो।

लुम्बिनी विकास कोषका पूर्व कार्यकारी सदस्य राजेश ज्ञवालीले पवित्र पूर्णिमाको अवसरमा लुम्बिनीमा भेला भएर बाढीपीडित तथा मृतकहरूप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गरिएको बताउनुभयो।

 

उहाँले भगवान बुद्धको करुणा र मैत्रीको सन्देशले दुःखको घडीमा रहेका पीडित परिवार तथा आफन्तजनलाई धैर्य, शक्ति र आशा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बुद्धको शान्ति, करुणा र मैत्रीको सन्देश स्मरण गर्दै ‘सबै प्राणीहरू सुखी रहून्, सबै प्राणीहरू शान्तिमय रहून्’ भन्ने भावनासहित मानवता, शान्ति र विपद्मा परेकाहरूको कल्याणका लागि सामूहिक प्रार्थना गरिएको थियो।

भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट गरिएको यस शान्ति प्रार्थनाले प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरूप्रति सम्मान, पीडित परिवारप्रति ऐक्यबद्धता तथा दुःखको समयमा मानवताप्रतिको साझा दायित्वको सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय