२०८३ भाद्र १६, मंगलवार २०:२५

बाणगंगा, कपिलवस्तु । १६ भदौ ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि कपिलवस्तुको बाणगंगा नगरपालिकाले ४५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि विपद्मा परेका नागरिकको पीडामा साथ दिन बाणगंगा नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

 

नगर प्रमुख चक्रपाणी अर्यालद्वारा जारी विज्ञप्तिअनुसार नगरपालिकाले उक्त रकम विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ।

२०८३ भदौ १६ गते बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगर कार्यपालिकाको तर्फबाट गरी ४५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो।

भोटेकोशीको बाढीले कतिपय परिवारलाई आफ्ना आफन्त गुमाउन बाध्य बनाएको छ भने घर, सडक, पुललगायत भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। यस्तो पीडाको समयमा बाणगंगा नगरपालिकाले राहतका लागि सहयोगको हात अघि बढाएको हो।

प्राकृतिक विपत्तिको घाउ तत्कालै निको हुँदैन। पीडित परिवारका लागि राहतसँगै पुनःस्थापना र आफ्नो दैनिक जीवनमा फर्किने वातावरण बनाउन लामो समय लाग्न सक्छ। यही कठिन अवस्थामा बाणगंगाले गरेको आर्थिक सहयोगले विपद्मा परेका नागरिकप्रतिको मानवीय जिम्मेवारी र स्थानीय तहबीचको सहकार्यलाई देखाएको छ।

नगरपालिकाले भोटेकोशी बाढीमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

भोटेकोशी बाढीपीडितका लागि विभिन्न तह र क्षेत्रबाट राहत तथा पुनःस्थापनाको पहल भइरहेका बेला बाणगंगा नगरपालिकाले गरेको ४५ लाख रुपैयाँको सहयोगले विपद्को पीडामा एउटा स्थानीय तहले अर्को क्षेत्रका नागरिकप्रति देखाएको मानवीय ऐक्यबद्धताको सन्देश दिएको नगर प्रमुख चक्रपाणी अर्यालले बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय