कपिलवस्तु, १७ भदौ । हालै रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि कपिलवस्तु नगरपालिकाले ५१ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको मेयर सुदिप पौडेलले जानकारी दिनु भएको छ । यो राशी कपिलवस्तु का पालिका मध्ये सर्बाधिक बढी हो ।
बाढीका कारण भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले विपद्को पीडामा रहेका नागरिकलाई सहयोग गर्नु सबैको मानवीय कर्तव्य भएको नगर पलिकाले जनाएको छ। कपिलवस्तु नगरपालिकाको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी रु. ५१ लाख ११ हजार आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो।कार्यपालिका बैठकको निर्णयअनुसार सहयोग रकमको चेक तथा भौचर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिन सम्बन्धित निकायमार्फत अनुरोध गरिएको छ।
रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति पुर्याएको छ। प्राकृतिक विपत्तिका कारण प्रभावित क्षेत्रमा रहेका नागरिकहरूले घरबार, सम्पत्ति तथा अन्य महत्वपूर्ण संरचनामा क्षति व्यहोर्नुपरेको छ। विपद्पछि राहत, उद्धार तथा पुनर्स्थापनाको कार्यलाई तीव्रता दिन सरकार तथा विभिन्न संघसंस्था र स्थानीय तहहरूबाट सहयोग जुटाउने क्रम जारी रहेको छ।
कपिलवस्तु नगरपालिकाले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाको काम छिटो, व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको नगरपालिकाको भनाइ छ।
नगरपालिकाले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
प्राकृतिक विपत्तिको यस दुःखद घडीमा देशका विभिन्न स्थानीय तह, सरकारी निकाय तथा सामाजिक संघसंस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ। सोही अभियानमा ऐक्यबद्धता जनाउँदै कपिलवस्तु नगरपालिकाले पनि ५१ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने महत्वपूर्ण निर्णय गरेको हो।
नगरपालिकाको यो सहयोगले बाढीपीडितको राहत तथा पुनर्स्थापनामा केही हदसम्म टेवा पुग्ने विश्वास गरिएको छ। विपद्को समयमा एकअर्काको सहयोग, सहकार्य र मानवीय एकताले पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाको यात्रामा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।









