२०८३ आश्विन ३, शनिबार १८:२०

लक्ष्मण सापकोटा
कपिलवस्तु, असोज ३

अधिकांश सामुदायिक वनहरूलाई वार्षिक साधारणसभा सम्पन्न गर्न नै धौ–धौ परिरहेका बेला कपिलवस्तुको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले भने चालु आर्थिक वर्षको पहिलो कामको सुरुवात गरेको छ।

समूहले गत भदौ ३१ गते सम्पन्न गरेको १४औँ वार्षिक साधारणसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि पारित गरेको कार्ययोजनाअन्तर्गत संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि वन क्षेत्रमा झाडी सरसफाइको काम सुरु गरेको हो।

चाडपर्व नजिकिँदै गरेको समयमा सुरु गरिएको यो कामले वन संरक्षण तथा संवर्द्धनसँगै उपभोक्तालाई रोजगारीको अवसरसमेत दिएको छ। दशैं–तिहारको मुखमा रोजगारी पाएपछि उपभोक्तालाई चाडपर्व मनाउन सहज हुने भएकाले वन संवर्द्धनसँगै उपभोक्ताको आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर झाडी सरसफाइको काम सुरु गरिएको वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी ‘सुसिल’ले बताउनुभयो।

त्यस्तै, मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारीले पछिल्ला तीन वटा आर्थिक वर्षमा कटान भएका तीन वटा प्लटसँगै अग्निरेखामा समेत झाडी सरसफाइ तथा झाडी–बुट्यान हटाउने काम गरिने जानकारी दिनुभयो।

झाडी सरसफाइका क्रममा कुन–कुन प्रजातिका बिरुवा हटाउने र कुन बिरुवालाई संरक्षण गर्ने भन्ने विषयमा उहाँले उपभोक्तालाई आवश्यक जानकारीसमेत गराउनुभएको थियो।

आफ्नै प्रत्यक्ष निगरानीमा श्रृङ्गिघाट सामुदायिक वनका १४ वटै मौजाका उपभोक्तालाई झाडी सरसफाइको काममा सहभागी गराई रोजगारी प्रदान गरिएको झाडी सफाइ कार्यक्रमका संयोजक विष्णु मल्लले जानकारी दिनुभयो।

चाडपर्वको मुखमा सामुदायिक वनले वन संवर्द्धनसँगै आफूहरूलाई रोजगारीको अवसरसमेत दिएको भन्दै उपभोक्ताहरू खुशी भएका छन्। वन संरक्षणको काममा सहभागी भएर आम्दानी गर्ने अवसर पाएपछि दशैं–तिहार मनाउन थप सहज हुने उनीहरूको भनाइ छ।

झाडी सरसफाइको कामको स्थलगत अनुगमनसमेत गरिएको छ। मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारी, श्रृङ्गिघाट सामुदायिक वनका उपाध्यक्ष बुद्ध बहादुर शाही, सचिव सुस्मा खाँण, सदस्य हरि पुन, लेखा समिति संयोजक गुरुदेव पौडेल एवम् टोल संयोजकहरूको टोलीले स्थलगत अनुगमन गर्दै झाडी सरसफाइका क्रममा ध्यान दिनुपर्ने विषयमा आवश्यक निर्देशन दिएको थियो।

यस कार्यक्रमअन्तर्गत श्रृङ्गिघाट सामुदायिक वनका १४ वटै मौजाका करिब १४० जना उपभोक्ताले रोजगारीको अवसर पाएका छन्।

चाडपर्वको मुखमा सुरु भएको झाडी सरसफाइ अभियानले एकातर्फ वन क्षेत्रको संरक्षण र संवर्द्धनमा टेवा पुर्‍याएको छ भने अर्कोतर्फ उपभोक्तालाई आफ्नै वनको संरक्षणमा सहभागी गराउँदै रोजगारीमार्फत आम्दानीको अवसरसमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय