९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्ने निर्णय गरेका छन् । उनीहरूले केहीबेरमा प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट्दैछन् ।
‘उहाँहरूको सोमबारको छलफलले स्पष्ट रुपमा राजीनामा माग्ने निर्णय गरिसकेको हो’ ‘तपाईंबाट अब न्यायपालिकाको नेतृत्व सम्भव हुने देखिएन । नेतृत्वमै रहे पनि न्यायपालिकाको गरिमा, निष्पक्षता र मर्यादामा आँच आउँछ । निकास दिनुस् भनेर राजीनामा माग्ने निर्णय भइसकेको रहेछ ।’ न्यायाधीशहरूले आपसी सल्लाहमै भेटघाटको एजेण्डा गोप्य राख्ने र सञ्चारमाध्यममा नबोल्ने तय गरेका थिए ।