काठमाडौँ, ३० पुष । स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठक बिहान ११ बजे आयोगको कार्यालय कान्तिपथमा बोलाइएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सर्वदलीय बैठकमा संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई सहभागी हुन निमन्त्रणा दिइएको छ ।
बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने उहाँले जानकारी दिनुभयो । यसअघि निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी ५ चैतभित्र गर्नुपर्ने सुझाव दिएका थिए । स्थानीय तहका वर्तमान जनप्रतिनिधिहरुको म्याद ५ जेठ २०७९ मा सकिँदै छ । स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनुभन्दा दुई महिनाअघि नै चुनाव गर्नुपर्ने कानूनी बाध्यता छ ।