२०७८ फाल्गुन १५, आईतवार १६:३७

काठमाडौं : सेयर बजारमा गिरावट आउनेक्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ७.७३ अंकले घटेको छ । यस गिरावटसँगै सूचक २६५३.७० विन्दुमा अडिएको छ । ३ अर्ब २७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सेयर बजारमा आइतबार क्रेता र बिक्रेताबीच थोरै रकममा पनि मोलमोलाई भएको देखियो । तर अन्तिम प्रहरमा फेरि बिक्रेता नै हावी भए । फलस्वरुपः सूचक सामान्य दबाबमै परेको देखियो । तर समग्रमा दिनभरको कारोबार अवस्था हेर्दा भने बजारमा खासै घटबढ देखिएन ।

समग्रमा भने बजार साइडवेजमा रहेको छ । कारोबार अवधिभरलाई अध्ययन गर्दा सूचक छिनछिनमै हरियो र रातो हुनेक्रम पनि चलिरह्यो । बजार न त ठूलो अंकले बढ्न सक्यो, न त ठूलै अंकले घट्न सक्यो । यसआधारमा हेर्दा आम लगानीकर्ताहरु ‘पर्ख र हेर’कै अवस्थामा रहेको देखिन्छ । सत्ता गठबन्धन दलहरु एमसीसी पारित गर्न सहमत भएका छन् ।

यस खबरले बजारलाई केही सकारात्मक बनाउन पहल गरेको देखिन्छ । विशेषगरी यो खबरपछि हाइड्रोपावर समूहमा तेजी आएको छ । तर अरु समूहहरुमा खासै तेजी आउन सकेन । सेयर बजारमा नीतिगत प्रभाव सबैभन्दा बढी पर्ने गरेको छ । अहिले चालिएका नीतिगत सुधारका कामहरुले पनि बजारलाई सकारात्मक प्रभाव नै पर्नेछ ।

पछिल्ला दिनहरुमा केन्द्रीय बैंक र अर्थ मन्त्रालयले तरलता सहज बनाउन केही नीतिगत कदमहरु चालेकाले पनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्न थालेको छ । बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धा, कम्पनीहरुको चुक्ता पुँजी कति छ ? नियमनको अवस्था कस्तो छ ? भन्ने विषयतर्फ पनि अध्ययन गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।

लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो ? आफू इन्भेष्टर र कि ट्रेडर भन्नेसमेत ध्यान दिंदै सोही अनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । यसैगरी, लगानी गरिने क्षेत्र तथा समूहहरुको तुलनात्मक अध्ययन, इन्डस्ट्री ग्रोथ रेट लगायतका सूचकहरुमा पनि लगानीकर्ताले अध्ययन गर्नुपर्ने हुन्छ ।

ब्लुचीप कम्पनी छान्ने कि ग्रोथ ओरियन्टेड कम्पनी छनोट गर्ने भन्नेमा पनि योजना बनाउन विश्लेषकहरुले सुझाव दिने गरेका छन् । यसैगरी, उक्त कम्पनीको करिब ५ वा त्यो सम्भव नभए ३ वर्षको वित्तीय विवरण, नाफा, रिजर्भ, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफा, इपीएस, पीइ रेसियो, नेटवर्थ लगायतका महत्वपूर्ण सूचकहरु पनि ख्याल गर्न सके लगानीसम्बन्धी निर्णय लिन सजिलो हुनेछ । आम लगानीकर्ताले भने रिस्क–रिवार्ड  रेसियोलाई समेत ख्याल गर्दै सबल कम्पनीमा लगानी गर्न सक्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय