लुम्बिनी विकास कोषलाई अनुदान सहयोगमा प्राप्त १९ विद्युतीय ट्याक्सी र बस घामपानीमै थन्किएका छन । करिब दुई वर्षअघि ल्याइएका यी सवारी अहिले बिग्रन थालेका हुन । एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड रुपैयाँको लागतमा ट्याक्सी र बस भित्रिएका हुन ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ओसारपसार गर्न र लुम्बिनीबाट तिलौराकोट, रामग्राम र देवदहसँग सेवा दिन यी सवारीसाधन लुम्बिनी भित्र्याइएका हुन । लुम्बिनी विकास कोषको २ नम्बर गेटअगाडि खुला आकाशमुनि राखिएका ती सवारी साधन सञ्चालन नहुँदा ब्याट्री डाउन भएका छन । टायरको हावा फुस्किसकेका छन् ।
तीनवटा बस ०७७ मंसिर ९ मा लुम्बिनी आइपुगेका हुन् । बाँकी २ बस र १४ ट्याक्सी ०७७ पुस ६ मा ल्याइएको थियो । तर, लामो समयसम्म सञ्चालन र व्यवस्थापनमा अलमल रह्यो । कसले कसरी चलाउने भन्ने मोडालिटीमा कोषले ठोस निर्णय लिन सकेको छैन । कार्यविधि बनाउने भनिएको पनि डेढ वर्ष भइसकेको छ । गाडी प्राविधिक रूपले ठिक छन् कि छैन भनेर रिपोर्ट दिनै वर्षदिन लागेको थियो ।