घनश्याम भर, कपिलवस्तु ।
विजयनगर गाउँपालिकाले पक्की शौचालयको निर्माण गर्दै आफ्ना नागरिकलाई शौचालयको प्रयोगमा निरञ्तरता दिएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा हुँदा कच्ची (टाटी, छाप्रो) बाट शौचालय निर्माण गरिको थियो । कच्ची शौचालय टिकाउ नभएपछि पालिकाबासीले आफ्नै लगानीमा पक्की शौचालय निमार्ण गर्न नसकेपछि पुनः खुला ठाउँमा दिसा, पिसाब गर्न बाध्य हुने नै भए ।
गाउँपालिकाले पूर्ण सरसफाइ युक्त क्षेत्रलाई मध्यनजर गर्दै सबैको घरमा ‘पक्की शौचालयको प्रयोग’ अभियानलाई निरञ्तरता दिन सुरु गरेको छ । अन्य पालिकाले पक्की शौचालय निर्माणलाई निरन्तरता नदिएको अवस्थामा विजनयगर गाउँपालिकाले भने योजनाबद्ध रुपमा पक्की शौचालय निर्माण कार्र्यलाई अभियानको रुपमै अघि सारेको छ । गत आर्थिक वर्ष गाउँपालिकाले ५० लाखको लागतमा १ सय ६० ओटा पक्की शौचालय निर्माण गरि सकेको जनाएको छ । यसै पक्की शौचालयको निर्माण अभियान अन्तर्गत गाउँपालिकाले यस आर्थिक वर्ष २०७८÷०७९ मा ५ सय ४ ओटा शौचालय निर्माण गरेको छ ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले संघीय सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत पक्की शौचालयको निमार्ण गरिएको बताए । गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा अनिवार्य सबैले पक्की शौचालयको प्रयोग गर्नुपर्ने बताउँदै शौचालय निर्माणलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उनको भनाइ छ ।